कुश उखेल्न जाँदा बुद्धको मूर्ति फेला

187

प्रस, महोत्तरी, ३ भदौ/
    कुशेऔंसीका दिन बुधवार कुश उखेल्न गएका महोत्तरी बथनाहाका डोमा सदाले प्राचीन बुद्धको मूर्ति फेला पारेका छन्।
    महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँबाट नेपाल–भारत सीमा भएर बग्ने टेकुना नदीमा मङ्गलवार बिहान बुद्धको मूर्ति फेला परेको सदाले बताएका छन्। घरघरमा कुश भित्र्याउने कुशेऔंसीका दिन आज बिहानै सीमावर्ती वनमा कुश उखेल्न पुगेका बथनाहाका २२ वर्षीय सदाले नदी किनारमैं कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तैरिरहेको भन्ठानेर समात्न जाँदा मूर्ति फेला परेको बताएका छन्।
    सुनौलो र खैरो रड्ढो डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला परेपछि उनले मूर्तिलाई आफ्नो घरमा ल्याएर टोलछिमेकलाई बताएका थिए।     सीमावर्ती नेपाल–भारत दुवैतर्फको गाउँमा सदाले बुद्धको मूर्ति फेला पारेको खबर थाहा पाएपछि सीमावर्ती भारती प्रहरीले सदालाई नियन्त्रणमा लिएको छ। भारत बिहार राज्यको सीतामढी जिल्ला, अन्तर्गत सहसराम क्याम्पबाट आएको सीमा सुरक्षा बल एसएसबीको टोलीले सदालाई घरबाटै नियन्त्रणमा लिएर क्याम्पमा लगेको छ।
    घटनाबारे नेपालतर्फका सुरक्षा निकायले पछि थाहा पाएको र खबर थाहा पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि सदाको घरमा पुग्दा भारतीय सुरक्षाकर्मीले उनलाई लिएर गइसकेको नेपालतर्फका प्रहरीको भनाइ छ। फेला परेको मूर्ति कुन धातुको हो भन्नेबारे पहिचान खुलेको छैन। भारतीय सीमा सुरक्षा बलले उक्त मूर्ति आफ्नो भारतीय क्षेत्रको रहेको दाबी गर्दै मूर्ति भारतमा बुझाउन भनेको छ।
    मूर्ति फेला पार्ने सदा र स्थानीय बासिन्दाले भने नेपालको भूभागभित्र भेट्टाएको मूर्ति कुनै पनि हालतमा भारतलाई नसुम्पिने अडानमा छन्। मूर्ति हेर्न सदाको घर पुग्नेहरूको दिनभरि नै भीड लागेको छ। सदालाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरेर ल्याउने प्रयास भइरहेको तर अबेर साँझसम्म मुक्त भइनसकेको मनरासिस्वा नगरपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्। सदाले फेला पारेको मूर्ति कुन धातुको हो भन्ने यकीन भइनसकेको स्थानीय प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्