चिरञ्जीवी सापकोटा, ठोरी, ३ फागुन/
ठोरी गाउँँपालिका–२ गौतमनगरको फायरलाइनदेखि चौतारातर्फ जाने हुलाकी सडकको निर्माण कार्यमा चितवन राष्ट्रिय निकुञ्जले अवरोध गरेपछि स्थानीयवासी आक्रोशित भएका छन्।
सो सडकखण्डको ९० प्रतिशत कार्य पूरा भएकोमा अन्तिम चरणमा निकुञ्जले निर्माण कार्य रोकेपछि स्थानीयहरू आक्रोशित भएका हुन्।  माथिको आदेश भन्दै निकुञ्जका कर्मचारीहरूले अवरोध गरेपछि स्थानीय, हुलाकी सडकका प्रतिनिधि तथा निकुञ्जका कर्मचारीबीच विवाद भएको थियो।
स्थानीयको दबाबपछि निकुञ्जका कर्मचारीहरू पछि हटेपछि सडक निर्माण कार्य सुचारु भएको छ।
सोमवार दिउँसो ठोरी गापा–२ को वडा कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा वडाध्यक्ष किशोर तामाङले मौखिक आदेशका कारण हुलाकी सडक निर्माण कार्य रोक्न नहुने बताए। उनले लिखित दस्तावेज भए छलफल गर्न सकिने अन्यथा दुई वर्ष पहिलेदेखि सबै प्रक्रिया पूरा गरी काम भइरहेको हुँदा आज आएर निर्माण कार्य रोक्न नहुने बताए।
इच्छानगर रेन्जपोस्टका रेन्जर छत्रबहादुर खड्काले चितवन राष्ट्रिय निकुञ्जबाट काम रोक्ने आदेश आएको बताए।
हुलाकी सडक निर्माण गरिरहेको बानियाँ/निर्माण जेभीका प्रतिनिधि उद्धव न्यौपानेले ३२ महीनादेखि यस क्षेत्रमा सडक निर्माण कार्य भइरहेकाले कसैको मौखिक आदेशमा निर्माण कार्य रोक्न नहुने बताए। उनले चैत मसान्तसम्म काम सम्पन्न गर्नेगरी कार्य भइरहेको जानकारी गराए।
छलफलमा निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, नेपाल सेनालगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here