प्रस, वीरगंज, २३ मङ्सिर/
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले शनिवार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सम्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको भन्दै नेपालका लागि दीर्घकालीन आर्थिक सङ्कट र स्वाधीनतामा हस्तक्षेपको सङ्केत हुन सक्ने बताएका छन् ।
उनले विज्ञप्तिमार्फत बिआरआई सम्झौतालाई भ्रमणको सबैभन्दा विवादास्पद पक्ष भनेका छन् । चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएकामा उल्टै भ्रमणको परिणामले नेपालको दीर्घकालीन स्वाधीनता, आर्थिक स्वावलम्बन र कूटनीतिक प्राथमिकताहरूमाथि गम्भीर चुनौती खडा गरेको बताए ।
बिआरआई परियोजनामा नेपालले विस्तृत अध्ययन र बहस गरी सहभागी हुने निर्णय गरेको भन्दै उनले श्रीलङ्का र माल्दिभ्स जस्ता देशहरूले यस्ता परियोजनाका कारण ठूलो आर्थिक सङ्कट झेलिसकेको उदाहरण नेपालका लागि चेतावनी हुनुपर्ने उल्लेख गरेका छन् ।
संसद्मा छलफल गरी र पारदर्शिता अपनाएर सम्झौतामा हस्ताक्षर गरिनुपर्नेमा सो विधि नअपनाइएको र यसले नेपालको आर्थिक र राजनीतिक भविष्यलाई सङ्कटतर्फ धकेल्न सक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनसँगको सीमा विवादबारे कुनै चर्चा नगर्नु गम्भीर कूटनीतिक असफलता भएको जनाएका छन् । रसुवागढी क्षेत्रलगायतका विवादित भूभागहरूमा चीनको अतिक्रमणबारे स्पष्टरूपमा आवाज नउठाइएको र भारतसँगका सीमा विवादमा स्पष्ट अडान लिने सरकार चीनसँग भने मौन देखिएकोले नेपालको सीमा सुरक्षा र भूराजनीतिक स्वाधीनतामा सरकारको प्रतिबद्धताप्रति गम्भीर प्रश्न खडा भएको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको उच्च ब्याजदरको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने विषय भ्रमणको प्राथमिकतामा नपरेको र नेपालको आर्थिक विकासका लागि महŒवपूर्ण हुन सक्ने व्यापारिक नाकाहरू पुनः सञ्चालन र सिगात्से–केरुङ–काठमाडौं रेलवे परियोजनाको ठोस कार्ययोजना अघि बढाउन पनि प्रधानमन्त्रीको भ्रमण असफल भएकोले उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।