कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका ३७८ कर्मचारीले १० दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्।
कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सङ्घमा समायोजन भएका एक हजार ३३९ कर्मचारीमध्ये ३७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन्, जसका कारण कर्मचारीको २० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि प्राविधिक कर्मचारीको आन्दोलन सङ्घर्ष समितिका सदस्य तोयनाथ जोशीले जानकारी दिए।
कृषि प्राविधिकमा बाली संरक्षण, बाली विकास, कृषि अर्थ, माटो, कृषि प्रसार, कृषि इन्जिनीयरिङ, बागवानी, खाद्य समूहका कर्मचारी गरी ३७८ जनाको कार्यालय र पद हराएर धर्नामा बस्नुपरेको उनले बताए। ३७८ मध्ये ५० जना पशु विकासतर्फका कर्मचारी रहेका छन्।
कृषि मन्त्रालयका कर्मचारीको बढुवाका लागि विसं २०७६ देखि लोकसेवा खुलेको छैन। मन्त्रालयमा उपसचिवको सङ्ख्यामा कमी आएको समितिका संयोजक माधव पौडेलले
बताए। सामान्य प्रशासनतर्फका कर्मचारी थप गर्नुपर्दा रातारात थपिने तर भएका कृषि प्राविधिकलाई समस्यामा पार्न खोजिएको भन्दै समितिले धर्नालाई निरन्तरता दिएको हो।