धर्ममाथि प्रहारको विरोधमा मुस्लिम समुदायको प्रदर्शन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३० चैत/
सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका बहालवाला न्यायाधीश कमलनारायण दासले मुस्लिम धर्मावलम्बीहरूको आस्थामा प्रहार गरी लेखिएको पोस्टको विरोधमा शुक्रवार वीरगंज महानगरका मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

वीरगंज महानगरका मुस्लिम समुदायले आज जिप्रकामा दिउँसो २ देखि ३ः३० बजेसम्म धर्ना, प्रदर्शन गर्दै जिप्रकामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको आबिद अन्सारीले बताए । आज मुस्लिम समुदायले जुम्माको नमाज सकाएर जिप्रका, पर्सामा भेला भएका थिए । जुम्माको नमाज पढ्न गएकाहरूलाई जिप्रका, पर्सामा भेला हुन सूचना गरिएको थियो । इस्लाम धर्मका प्रवर्तकलाई बहालवाला न्यायाधीश कमलनारायण दासको नामबाट सामाजिक सञ्जालमा गरिएको पोस्ट आपत्तिजनक रहेको भन्दै सोबारेमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिएको छ ।

सामाजिक सञ्जालमा आएको यो पोस्टको विरुद्धमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् । उनले संविधानमा भएको धार्मिक स्वतन्त्रताको बर्खिलाफ, धर्मनिरपेक्षतामाथि पनि प्रहार भएको भन्दै इस्लाम धर्मका प्रवर्तकका बारेमा धार्मिक आस्थामा खलल पु-याउने कार्य गरिएको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

आबिद अन्सारीले सामाजिक सञ्जालमा न्यायाधीश दासको नाममा तीनवटा अकाउन्ट रहेको र सोमध्ये एउटामा यस प्रकारको पोस्ट गरिएको बताएका छन् । आरोपित न्यायाधीश दासले भने यसबारेमा आफ्नो कुनै आधिकारिक भनाइ सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस