प्रस, सिम्रौनगढ, २ चैत/
बाराको सिम्रौनगढबाट प्रकाशित हुँदै आएको तिरहुत साप्ताहिकको १२औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस बारा क्ष्Fेत्र नं १ का सभापति विजयशङ्कर यादवले देशको चौथो अङ्ग पत्रकारिताले प्रजातन्त्र र गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको बताए । उनले ऐतिहासिक स्थल सिम्रौनगढबाट प्रकाशित हुँदै आएको तिरहुत साप्ताहिकले सिम्रौनगढलाई विश्वसम्पदा सूचीमा सामेल गराउन ऊर्जाको काम गरेको बताए ।
यादवले देशमा छ महीनासम्म सरकार नटिक्नु सङ्घीयता र व्यवस्था माथिको प्रहार भएको बताए । सिम्रौनगढ नगरपालिकाको विवाद साम्य भएपनि अझैसम्म नपाको कार्यालयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नआएको बताए । उनले पत्रकारहरूलाई आग्रह गर्दै सिम्रौनगढको विकासको बाधकका बारेमा लेख्न आग्रह गरे ।
तिरहुत साप्ताहिकका प्रकाशक अजित कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बाराका अध्यक्ष रेशम तिवारी, प्रेस युनियन मधेस प्रदेश सभापति सत्यप्रकाश श्रेष्ठ, प्रेस सङ्गठनकी केन्द्रीय सदस्य शारदा पोखरेल, नेपाल पत्रकार महासङ्घ बाराका पूर्वअध्यक्ष गुरु गौतम, सचिव अनिल गौरव, भोजराज भट्टराई, गणेश रिजाल, नागेन्द्रप्रसाद यादव, वडाध्यक्ष अवधेश सहनीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सिकेन्द्र पासवान र स्वागत पत्रिकाका सम्पादक रामेश्वर मेहताले गरेका थिए । कार्यक्रममा बारा, रौतहट र भारतका पत्रकार, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।