प्रस, सेढवा, २७ माघ/
पर्साको ग्रामीण भेगमा सुर्ती किसानहरू यतिखेर सुर्तीको पात टिप्नमा व्यस्त छन् । विगत केही वर्षदेखि पर्सामा नगदेबालीको रूपमा सुर्तीखेती हुँदै आएको छ । नगदेबाली सुर्तीखेतीप्रति किसानहरूको आकर्षण बढ्दो छ ।
सुर्तीखेती वार्षिक दुईपटक हुने गरेको छ र अहिले यो वर्षको पहिलो सुर्तीखेतीमा किसानहरू आफूले उत्पादन गरेको सुर्तीका पात टिप्दैछन् । गत कात्तिक महीनामा रोपिएको सुर्ती बालीको पात टिप्न शुरू भएको ठोरी गापा–४ विजयबस्तीका किसान राजकुमार श्रेष्ठले बताए । उनले अहिले सुर्तीको पात टिप्दैमा बिहानदेखि साँझ हुने गरेको जानकारी गराएका छन् ।
उनले अहिले सुर्तीबाहेकका अन्य बालीमा ध्यान दिन नपरेको कारण परिवारका सबै सदस्य सुर्तीको पात टिप्ने कार्यमा संलग्न भएको बताए । सुर्तीको पात टिप्ने र त्यसलाई सुकाउने व्यवस्थापनमा आफूहरू व्यस्त भएको किसान श्रेष्ठले बताए । उनले विजयबस्तीका अधिकांश किसानले सुर्तीखेती गरेका र अहिले एकैसाथ पात टिप्ने कार्यका लागि मजदूरहरूको पनि समस्या भएको बताए ।
मजदूर अभावमा परिवारका सदस्यहरूले सघाएका कारण धेरै कठिनाइ नभएको बताए । केहीले छिमेकी भारतको धुमाटाड, जसौली, सिस्वा, जिगना, थुकहाबाट मजदूर ल्याएर सुर्तीको पात टिप्ने काममा लगाएको बताए । भारतीय मजदूरहरूका साथै जीराभवानी गापाका जगतिया, गम्हरिया, भवानीपुर, पकडीटोलालगायतबाट आउने मजदूरहरू सुर्तीको पात टिप्ने, सुकाउने कार्यमा संलग्न रहँदै आएका स्थानीय किसानहरूले बताएका छन् ।
जीराभवानी गापा–१ शान्तिनगरकी मनुमाया श्रेष्ठले सुर्तीको बिरुवाको तल्लो र बीच भागको पात टिप्न योग्य देखिएकोले अहिले काममा दोहोरो चाप बढेको बताइन् । उनले गत वर्षको तुलनामा यस वर्ष सुर्तीखेती राम्रो भएको बताइन् । हुस्सु बढेको, पश्चिमी हावाले चीसो बढेको कारण उत्पादन आशा गरेभन्दा बढी हुने अनुमान गरिएको बताइन् । श्रेष्ठले बिहान पात टिप्न र अबेर रातिसम्म पात गाँसेर माला बनाउने कार्य भइरहेको जानकारी गराइन् ।
विजयबस्तीमा यसअघि गाँजाखेती हुने गरेको थियो । प्रहरी, प्रशासनले गाँजा खेतीमा कडाइ गरेपछि यो क्षेत्रका किसानहरू सुर्तीखेतीतर्फ आकर्षित भएका हुन् । जीराभवानी गापा–२ सेढवाका किसान जगदीश चौधरीले सुर्तीखेती राम्रो भएमा प्रतिकट्ठा रु २० हजारसम्म मुनाफा हुने बताए । उनले अन्य बालीको तुलनामा सुर्तीखेती गर्ने किसानहरूले दोब्बरी आम्दानी गर्दै आएको बताए ।
यहाँ रोपिएका सुर्ती सूर्य नेपाल प्रालि, सिमरा, बाराले खरीद गर्दै आएको छ । सो कार्यालयले पर्सा जिल्लामा सबैभन्दा बढी एक हजार हेक्टर जमीनमा सुर्तीखेती हुने गरेको जनाएको छ । एचडी र बर्ली जातका सुर्ती खेती पर्सादेखि सिराहासम्म र नवलपरासीमा पनि गरिन्छ ।