प्रस, वीरगंज, २० मङ्सिर/
जिल्ला प्रहरी कार्यालय बारा र पर्साले केही दिनदेखि गाँजा फँडानी अभियानलाई तीव्र पारेका छन् । प्रहरीको यस कार्यलाई स्थानीयले नौटङ्कीको संज्ञा दिइरहेका छन् ।
गाँजा पाकेर भिœयाउने बेलामा प्रहरीले केही गाँजाखेती नष्ट गरेर नाटक गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । प्रहरीले गाँजाविरुद्धको अभियान चालेको भए बेर्ना लगाउने बेलामा नै गाँजा फँडानी गर्न सक्थ्यो तर अहिले आएर गाँजा पाकेपछि केही गाँजाखेती फँडानी गरेर झारा टार्ने काम गरेको स्थानीयको आरोप छ ।
गाँजाखेतीको लागि बेर्ना तयार, खेत खनजोत अनि गाँजाको बिरुवा लगाउने बेलामा बारा/पर्साका विभिन्न सुरक्षा निकाय तथा अनुसन्धान विभागका कर्मचारीहरू कहाँ थिए ? स्थानीयवासीले प्रश्न गरे ।
स्रोतका अनुसार पर्साका दुई सय बिघा तथा बाराका साढे तीन सय बिघा क्षेत्रफलको गाँजाखेती फँडानी हुन सकेको छैन । बारा र पर्सामा गाँजाखेती जङ्गलभित्र व्यापकरूपमा गरिएको छ । प्रहरीलाई सबै जानकारी भएपनि गाँजा व्यापारीको प्रलोभनमा परेको स्रोतको भनाइ छ ।
गाँजा रोप्ने बेला गाँजा व्यापारीले प्रहरीलाई प्रतिकट्ठाको दरले रकम बुझाएको र अहिले गाँजा पाक्ने बेलामा नाम कमाउन प्रहरीले केही गाँजाखेती फँडानी गरेको एकजना गाँजा व्यापारीले बताए । प्रतिवर्ष मङ्सिर महीनाभरि गाँजाखेती फँडानी गर्ने प्रहरीको कार्यनिर्देश अनुसार अहिले गाँजाखेती रोकथाम गरेको देखाउन फँडानी गरिरहेको स्रोतले दाबी गरेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय, बाराले निजगढ नगरपालिका–१२ कुलिया, थली, सालबिसौनीमा १६ कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको छ ।
इलाका प्रहरी कार्यालय, निजगढले सो क्षेत्रमा लगाइएको करीब २० हजार गाँजाका बोटहरू फँडानी गर्नुका साथै गाँजाखेतीमा संलग्न व्यक्तिहरूको खोजतलाश गरिरहेको जनाएको छ ।