प्रस, सेढवा, २० मङ्सिर/
पर्सा जिल्लाको एकमात्र इलाका प्रशासन कार्यालय, सुपौलीमा आठ महीनादेखि सेवाप्रवाह बन्द छ । ग्रामीण भेगका ठोरी, जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकाका आम नागरिकलाई सहजरूपमा सेवाप्रवाह गर्ने उद्देश्य स्थापना गरिएको इप्रका, सुपौलीको सेवाप्रवाह पटकपटक बन्द भएको छ ।
यस कार्यालयबाट तोकिएका पालिकाका नागरिकलाई नागरिकता, नागरिकताको प्रतिलिपि, समावेशी समुदायको प्रमाणपत्रलगायतका प्रमाणपत्र वितरणसम्बन्धी सेवाप्रवाह हुँदै आएको थियो । विगतमा कर्मचारी अभावको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, पर्साले साताको एक दिन सेवाप्रवाह गर्दै आएको थियो । एक दिनको सेवाप्रवाहले ठूलो भीड हँुदा सेवाग्राहीहरूले सास्ती खेप्ने गरेका थिए । तर गाउँठाउँमैं सेवा पाउँदा सेवाग्राही नागरिकहरू खुशी थिए ।
तर गत वैशाख महीनादेखि सेवाप्रवाह नै बन्द भएपछि नागरिकतालगायतका प्रमाणपत्र लिनका लागि वीरगंज धाउनुपरिरहेको जीराभवानी गाउँपालिका वडा नं १ का रोहित चौधरीले बताए । इप्रका, सुपौलीबाट सेवा नै सारेर सदरमुकाम वीरगंज लगेपछि स्थानीयहरू निराश भएका चौधरीले बताए ।
वीरगंजमा सेवा लिन जाँदा सेवाग्राहीहरूले बढी खर्च गर्नुपरेको साथै समय पनि बर्बाद हुने गरेको स्थानीयको भनाइ छ । यस सम्बन्धमा जिप्रका, पर्साका शाखा अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार मन्त्रालयले अधिकृत नपठाउँदा सुपौलीमा सेवाप्रवाह प्रभावित भएको बताए । जिल्लामा अधिकृत भएका बेला सातामा एक दिन सेवा दिंदै आएको र अहिले जिप्रका, पर्सामा शाखा अधिकृत नै कम भएकाले सुपौलीको काम भ्याउन नसकेर त्यहाँको सेवा जिल्लामा ल्याएको अधिकृत श्रीवास्तवले बताए । मन्त्रालयले सुपौलीका लागि अधिकृत पठाए पुनः सेवाप्रवाह गरिने अधिकृत श्रीवास्तवले बताए । अहिले इप्रका, सुपौलीमा एकजना नायबसुब्बा, एकजना कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगी गरी चारजना कार्यरत छन् । ती कर्मचारीहरूले कार्यालय खोल्ने र आएका सेवाग्राहीहरूलाई कागजात मिलाएर वीरगंज पठाउने गरेका छन् ।
घरदैलोमा आम नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले २०७५ पुस ११ गते नेपाल सरकारले जीराभवानी गाउँपालिका वडा नं ४ सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवाप्रवाह गरेको थियो ।