प्रस, महोत्तरी, १० मङ्सिर/
बालिका हत्याविरुद्ध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणा गर्न स्थानीयले माग गरेका छन्।
बर्दिबास सेवा समितिले बुधवार बिहान आयोजना गरेको सर्वपक्षीय बैठकमा मृतक न्यौपानेलाई सरकारले शहीद घोषणा गर्नुपर्ने माग अगाडि बढाउने सम्बन्धमा स्थानीय एकमत देखिएका छन्। मृतक न्यौपाने बर्दिबास सेवा समितिका सदस्य पनि हुन्। बैठकले आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च तथा क्षतिपूर्ति सरकारले बेहोर्नुपर्ने, गोली चलाउन निर्देशन दिने प्रहरी अधिकारीलाई बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई हदैसम्म कानूनी कारबाई गर्नुपर्नेलगायतका माग अगाडि सारेको छ।
स्थानीयको माग सङ्घीय सरकार समक्ष पु–याउनका लागि चिरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता समिति पनि आजै गठन गरिएको बैठकमा सहभागी मधुसूदन मरासिनीले जानकारी दिएका छन्। बालिकाका हत्यारालाई कडा कारबाई गर्नुपर्ने माग राख्दै मङ्गलवार प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारको लागि सोही दिन काठमाडौं पु–याइएको थियो। उपचारकै क्रममा मङ्गलवार राति उनको ज्यान गएको हो।
बितेको आइतवार साँझदेखि हराएकी महोत्तरी बर्दिबास वडा नं १४ की ६ वर्षीया बालिकाको शव बोराभित्र कोचिएको अवस्थामा सोमवार राति भेटिएको थियो। बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ निवासी अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सोही घटनाको विरोधमा मङ्गलवार स्थानीय आन्दोलनमा उत्रिएका थिए। प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी न्यौपानेसहित तीनजना घाइते भएका थिए भने प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्।
घाइते न्यौपानेको ज्यान गएपछि आन्दोलन बुधवार बिहानैदेखि थप चर्किएको थियो। यसैबीच बिहान नौ बजेदेखि लागू हुने गरी सो क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। थप धनजनको क्षति नहोस् भनेर निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रजिअ कटुवालले जानकारी दिएका छन्। बुधवार बिहान ९ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाका बावजूद पनि बर्दिबासका विभिन्न चोकमा प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। न्यौपानेसँगै घाइते भएका बर्दिबास–५ का श्याम कार्कीको काठमाडौंमा उपचार भइरहेको छ भने आफताब आलमको बर्दिबासमा उपचार भइरहेको छ।