हतियारले आतङ्कित अमेरिका

0
60

अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हातहतियार राख्नु वैधानिक मानिन्छ । तर, सुरक्षाका लागि दिइने यस्ता हतियारको दुरुपयोग बढ्दो छ । सामूहिक गोलीबारीको शृङ्खला एकपछि अर्को गर्दै दोहोरिरहेको छ । विशेषगरी किशोर र युवाका हात रगतले सिंचिएका छन् । बितेको बुधवार साँझ माइनको ल्युस्टन शहरमा गोली चल्यो । सो गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु भयो र अन्य थुप्रै घाइते भए । अमेरिकामा वार्षिक सरदर ३० हजारभन्दा बढी मानिसको बन्दूकका कारण ज्यान गइरहेको छ । यो सङ्ख्या बढ्दो क्रममा छ । बितेको वर्ष, सन् २०२२ मा मात्रै अमेरिकामा २१४ वटा सामूहिक गोलीबारीका घटना भए । सन् २००९ यता १३ वर्षको अवधिमा २८८ वटा विद्यालयमा सामूहिक गोलीबारी भएको छ । सन् २०२० मा मात्रै बन्दूकजन्य घटनामा परी अमेरिकामा ४५,२२२ अमेरिकीको मृत्यु भएको आँकडा छ । जसमध्ये १९,३८४ जनाको हत्या भएको थियो । सन् २०१४ देखि २०१९ सम्म यस्ता प्रकृतिको घटना १३.५ प्रतिशतले बढेको देखिन्छ । सन् २०१९ पछि ३३.४ प्रतिशतले वृद्धि भएको छ । एक दशक पहिलेको तुलनामा सन् २०२२ सम्म आइपुग्दा ७५ प्रतिशतले आकाशिएको आँकडा छ । अनुसन्धानकर्ता संस्था सिडिसीका अनुसार अहिले दिनहुँ ५३ जना अमेरिकीको हत्यामा ७९ प्रतिशत बन्दूक प्रयोग भएको देखिन्छ । यो तथ्याङ्क व्यक्तिगतरूपमा बन्दूक राख्न पाइने मुलुक क्यानडा, इङ्गल्यान्ड, वेल्स, अस्ट्रेलियालगायतभन्दा धेरै उच्च हो । इङ्गल्यान्डमा ४ प्रतिशत, अस्ट्रेलियामा १३ प्रतिशत र क्यानडामा ३७ प्रतिशत हत्यामा मात्रै बन्दूक प्रयोग हुने गरेको छ ।

अमेरिकामा मुख्यतः डेमोक्रेट र रिपब्लिकन गरी दुई पार्टी छन् । पार्टीको सोच तथा नीति कार्यक्रम अनुसार पनि हतियारसम्बन्धी कानूनमा केही फरक हुने गरेको छ । रिपब्लिकनको बाहुल्य एवं पकड रहेकोभन्दा डेमोक्रेटहरूको बाहुल्य रहेका राज्यहरूमा हतियारसम्बन्धी कानून केही कडा हुने गरेको पाइन्छ । क्यालिफोर्निया, न्यूयोर्क, न्यूजर्सी, कनेक्टीकटलगायत दर्जन राज्यमा व्यक्तिगतरूपमा बन्दूक राख्न पाउने नियममा केही कडाइ छ । टेक्सास, लुजियाना, मिसिसिपी, नेब्रास्कालगायत राज्यमा भने केही खुकुलो नियम छ । दुई राज्यबीच हातहतियार ओसारपसारलगायत कानून बनाउँदै शुरू गरिएको ऐनले पछि भने व्यक्तिगतरूपमा पनि हतियार बोक्न र राख्न मिल्नेसम्म कानून बनेको हो । राज्यहरूमा कडाइ वा सहजता जे भए पनि पछिल्ला दिनमा अमेरिकामा बन्दूक राख्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । करीब ३४ करोड जनसङ्ख्या रहेको अमेरिकामा हालसम्म डेढ करोड व्यक्तिसँग हतियार बोक्ने लाइसेन्स छ । त्यहाँका विभिन्न ११ राज्यमा हातहतियार राख्न कुनै स्वीकृति आवश्यक पर्दैन । जसको कारण पनि अमेरिकाभरि सर्वसाधारणले कति बन्दूक राखेका छन् यकीन तथ्याङ्क छैन ।

युवा मस्तिष्कमा बन्दूकप्रतिको मोह बढ्नु र पटक–पटक आक्रमणका घटना हुनुका पछाडि हतियारसम्म सहज पहुँच, पारिवारिक समन्वय र पर्यवेक्षणमा कमी, मानसिक रोग, वर्ग तथा वर्णको आधारमा हुने सामाजिक तथा कानूनी विभेद, हिंस्रक फिल्म तथा साहित्य एवं सामाजिक सञ्जाल, लगायत कारण हुन् । यसलाई निरुत्साहित गर्न त्यहाँको मानसिक–सामाजिक अवस्थामा सुधार र राज्यले बन्दूक प्रयोगसम्बन्धी कानूनमा कडाइ गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here