प्रस, परवानीपुर, ९ कात्तिक/
वीरगंज महानगर–१४ बहुअरी मुस्लिम टोलमा गत शनिवार फूलपातीको राति एकजना महिलाको बीभत्स हत्या भएको छ ।
सोही टोलका इजहारुल हक अन्सारीले २८ वर्षीया कान्छी पत्नी महिमा खातुनको छुरा प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
विवाह गरेको १० वर्षदेखि इजहारुल कान्छी पत्नीलाई लिएर जेठी पत्नीसँग बस्दै आएका थिए । जेठी पत्नीबाट सन्तान नभएपछि इजहारुलले बारा, कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी महिमासँग दोस्रFे विवाह गरेका थिए । तीन वर्षसम्म उनीहरूबीच सम्बन्ध ठीक थियो । कान्छी पत्नीबाट छोरीको जन्म भएको तीन वर्षपछि छोरा जन्मेपछि दुवैजनाबीच मनमुटाव शुरू भएको थियो ।
जेठी पत्नीले दुवैबीच झगडा बढाउने गरेको महिमाको माइती पक्षको आरोप छ । विवाद बढेपछि महिमा राधेमाई टोलमा ब्युटीपार्लर खोलेर छुट्टै बसेकी थिइन् । उनले पतिमाथि अंशको मुद्दा दर्ता गरेकी थिइन् । अंश विवादका कारण पति–पत्नीको झगडालाई लिएर धेरैपटक जिल्ला प्रहरी कार्यालय, पर्साको महिला सेल र स्थानीय भद्रभलादमीबीच पञ्चायती पनि भएको वीरगंज–१४ का अध्यक्ष महबूब एलाही अन्सारीले बताए । उनले दुवैबीचको विवादका कारण नै उक्त दुःखद घटना भएको बताए ।
घटनामा संलग्न इजहारुल र उनकी जेठी पत्नी नूरजहाँ खातुनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
महिमाको माइती पक्षले उक्त घटनामा महिमाका ससुरा र सासूको समेत संलग्नता रहेको आरोप लगाएका छन् । हाल दुवैजना फरार छन् ।
कात्तिक ४ गते फूलपातीको राति ८ः३० बजे घरमैं इजहारुलले महिमामाथि पाँचपटक छुरा प्रहार गरेका थिए । त्यसपछि घाइते महिमा भाग्दै दिदीको घरमा पुगेकी थिइन् । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पतिको छुरा प्रहारबाट गम्भीर घाइते भएकी महिमालाई वीरगंज हेल्थकेयरमा शल्यक्रिया गरी उपचार गर्दा पनि उनको ज्यान बचाउन सकिएन । महिमा र इजहारुलका साढे तीन वर्षीया छोरी र नौ महीनाका छोरा अहिले महिमाको दिदीको संरक्षणमा छन् ।