मधेस प्रदेशसभाको पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव माघ २ गते

0
120

प्रस, जनकपुरधाम, १८ पुस/

मधेस प्रदेशसभाको पहिलो बैठक जनकपुरधामस्थित प्रदेशसभाको सभाकक्षमा सोमवार सम्पन्न भयो । सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले सङ्घीयता कार्यान्वयनमा अझै पनि चुनौती रहेको बताए ।

अब आउने नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै उनले प्रदेशसभामा सहभागी सबै दल एकमत भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेको भए तापनि जतिसक्दो छिटो र सफलरूपले कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्वयमा प्रदेश सरकारले ध्यान दिनुपर्ने मुख्यमन्त्री गद्दीले बताए ।

आफ्नो बितेको पाँच वर्ष कार्यकालको समीक्षा गर्दै उनले भने, “चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महŒव राख्दछ । ऐन र नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।”

सङ्घीयता कार्यान्वयनकै लागि सङ्घीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नुपरेको मुख्यमन्त्री गद्दीले स्मरण गरे । देशमा मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै सङ्घीयता कार्यान्वयन हुने दोहो¥याए ।

स्रोत, साधनको अभावबीच पाँच वर्षको यात्रा निकै कष्टकर भएको  मुख्यमन्त्री गद्दीको गुनासो थियो । आफ्नो कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उनको भनाइ थियो ।

पहिलो बैठकले मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गते गर्ने निर्णय गरेको छ ।

सभाअध्यक्ष न्यौपानेले माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए । उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिएकाछन् ।

बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ ।

यसरी मनोनित गरिएका सदस्यहरूमा सांसदहरू रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत छन् । सभालाई प्रदेश सरकारका मुख्यमन्त्री गद्दी, पूर्वसभामुख सरोजकुमार यादव र विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गरेका थिए ।

सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङगेली, कञ्चन बिच्छा, बिमला अन्सारी, उर्मिलादेवी सिंह, अनिरूद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here