बन्देज हटेपछि चिनीको आयात बढ्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २९ भदौ/
    सरकारले भारत तथा विदेशबाट चिनी आयातमा लगाएको बन्देज हटाएपछि सरकारी संस्थान तथा निजी कम्पनीहरूले धमाधम चिनी आयात गर्न थालेका छन्।
    लकडाउन र निषेधाज्ञाको परवाह नगरी आगामी दशैं, तिहारलाई लक्षित गरी व्यवसायीहरूले भारतको उत्तरप्रदेशबाट करोडौं मूल्यको चिनी आयात गरिसकेका छन् भने कतिपय व्यवसायी चिनी आयात गर्न तम्सेका छन्। वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको साउन र भदौ २७ गतेसम्म ५१ करोड ३८ लाख ७५ हजार ४ सय मूल्य बराबरको करीब एक लाख टनभन्दा बढी चिनी आयात भएको छ। उक्त मूल्यबराबर चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूल्य अभिवृद्धि करबापत सुक्खा बन्दरगाह भन्सार कार्यालयले २९ करोड ८१ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको सो भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पूर्वेले जानकारी गराए।
    सरकारले भन्सार महसूलमा २० प्रतिशत सहुलियत दिएको साल्ट ट्रेडिङ कम्पनी र नेपाल खाद्य संस्थान चिनी आयातको प्रक्रियामैं अल्झिरहेका बेला नेपालको एक चिनी उद्योगसहित पाँचवटा नेपाली ट्रेडिङ कम्पनीले धमाधम चिनी आयात गरी भण्डारण तथा बिक्री वितरण शुरू गरेको व्यवसायीहरूले बताएका छन्।
    वीरगंजका व्यवसायीका अनुसार चिनी उत्पादन गर्ने बाराको रिलायन्स सुगर मिल्स प्रालि, जगदम्बा ट्रेडिङ बारा, शिवम् ओभरसिज पर्सा, मीरा ट्रेडिङ झापा, इभोलुशन इन्टरप्राइजेज प्रालि काठमाडौंले दुर्ई महीनामा ५१ करोड रुपैयाँभन्दा बढीको चिनी आयात गरेका छन्। सबै आयातकर्ताले भारतको उत्तरप्रदेशकै चिनीमिलहरूबाट चिनी खरीद गरी नेपाल आयात गरिरहेका छन्। रिलायन्सले उत्तर सुगर मिल्स, उत्तरप्रदेशबाट २५ लाख ५९ हजार ७ सय ३५ किलो, जगदम्बा इन्टरप्राइजेज बाराले एलएच सुगर फ्याक्ट्री, उत्तरप्रदेशबाट २५ लाख ८६ हजार किलो, शिवम् ओभरसिज पर्साले युनिस्टार मेटलल्स प्रालि कोलकाताबाट १३ लाख ७८ हजार किलो, मीरा ट्रेडिङ झापाले कलन साह एन्ड कम्पनी, उत्तरप्रदेशबाट १३ लाख ३० हजार किलो र एलएच सुगर फ्याक्ट्री, उत्तरप्रदेशबाट १२ लाख ६५ हजार गरी २५ लाख ९५ हजार किलो चिनी आयात गरेका छन्। व्यवसायीहरूले सबै खर्च जोडेर भारतबाट किलोमा साढे ७५ रुपैयाँमा चिनी आयात गरी साढे ७६ रुपैयाँमा चिनी बेचिरहेको बताएका छन्।
    “हामीले भारु साढे २७ रुपैयाँदेखि २९ रुपैयाँमा चिनी खरीद गरी भन्सार राजस्व, ढुवानी र अन्य खर्च जोड्दा प्रतिकिलो साढे ७५ रुपैयाँ परिरहेको छ,” वीरगंजका एक व्यवसायीले भने, “बजारमा थोकमा साढे ७६ रुपैयाँमा चिनी बेचिरहेका छौं।”
    सरकारले साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई सहुलियत दिएर पनि कमिशनको कारण चिनी आयात प्रक्रिया अल्झिरहेको छ। तर निजी व्यवसायीलाई राजस्व दर बढाउँदा नेपालमा चिनीको मूल्य आकाशिएको छ। चिनी आयातमा भन्सार महसूल ४० प्रतिशतबाट २० प्रतिशतमा झारे नेपालमा ७० रुपैयाँ प्रतिकिलोमा चिनी आयात गरी बढीमा रु ७५ मा बेच्न सकिने व्यवसायीहरूको भनाइ छ। यता, सरकारले साल्ट ट्रेडिङले अहिले पनि साढे ७३ रुपैयाँमैं चिनी बेचिरहेको बताइरहेको छ। तर सरकारी संस्थानले चिनी आयातमा २० प्रतिशत सहुलियत लिएर पनि समयमा चिनी आयात गर्न नसक्नु र नेपालमा चिनीको अभाव हुनु सरकार र जनताको लागि दुःखद भएको विश्लेषण भइरहेको छ।   

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस