सिटी भ्यालुसहित पिसिआर रिपोर्ट

0
516

राधेश्याम पटेल, वीरगंज, १० भदौ/
    नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले बहुप्रतीक्षित मानिएको सिटी भ्यालु (साइकल थ्रेसहोल्ड)सहितको पिसिआर रिपोर्ट दिन शुरू गरेको छ।
    नारायणी अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरको सक्रियतामा सिटी भ्यालुसहितको पिसिआर रिपोर्ट दिन सुरुआत गरिएको हो।
    वीरगंज आएपछि जनसमुदायसँग गरिएको जूम छलफलमा चौतर्फीरूपमा पिसिआर रिपोर्टमा सिटी भ्यालु उल्लेख गरेर दिंदा सङ्क्रमितको वर्गीकरण गर्न सहज हुने कुरा उठेपछि मङ्गलवारदेखि सिटी भ्यालुसहितको रिपोर्ट सार्वजनिक गर्न थालिएको मेसु डा ठाकुरले जानकारी दिए।
    “सिटी भ्यालु भनेको कोरोना सङ्क्रमणको साइकल थ्रेसहोल्डलाई जनाउँछ, कुन सङ्क्रमितमा भाइरसको मात्र कस्तो छ, समुदायमा सङ्क्रमण फैलाउन सक्छ कि सक्दैन भन्ने कुराको निक्र्योल गर्ने सिटी भ्यालु नै हो, त्यस कारण यो सुविधा सुरुआत गरिएको हो,” उनले भने, “युरोपमा ३३ सिटी भ्यालुभन्दा मुनि र भारतमा २४ सिटी भ्यालुभन्दा मुनिका सङ्क्रमित भनेको बलियो कोरोना सङ्क्रमितको रूपमा अध्ययनहरूले देखाएका छन्, त्यसमाथिका सङ्क्रमितले समुदायमा कोरोना सङ्क्रमण फैलाउन सक्दैन भनिन्छ, तर यो तथ्याङ्क अहिले पूर्णरूपमा अध्ययनकै चरणमा रहेको छ। फेरि कुन रिएजेन्ट र एक्सट्रेक्स किटमा परिक्षण हुन्छ, त्यसमा पनि सिटी भ्यालु भर पर्ने गर्छ।”
    यस विषयमा नारायणी अस्पताल प्रयोगशालाकी प्रमुख डा नीरा पाठकले दक्ष जनशक्ति र समय अभावको कारण पहिले सिटी भ्यालुसहितको रिपोर्ट नदिएकोमा हाल चारैतिरबाट माग उठेपछि सिटी भ्यालु एडेड रिपोर्ट उपलब्ध गराउन थालिएको बताइन्। उनले पिसिआर रिपोर्टको अन्तिम नतीजाको विश्लेषण सिटी भ्यालुबाट नै गर्ने हुँदा सामान्य प्रक्रियाबाट चार चरण पार गरेपछि करीब १० घण्टा लाग्छ एउटा नमूनाको नतीजा निकाल्न भने सिटी भ्यालु निकाल्न थप दुर्ई घण्टा समय लाग्ने बताइन्।
पर्सा–बाराका सिटी भ्यालु खतरापूर्ण
    नारायणी अस्पतालमा हुने पिसिआर परीक्षणमा बलियो सङ्क्रमित मात्र भेटिने गरेका छन्। साउन अघि ३०, ३२, ३४ सम्म सिटी भ्यालु आउँथ्यो भने अहिले ८० प्रतिशत पोजेटिभ केस २४ भन्दा मुनि अर्थात् १५, १६, १७ सम्म आउने गरेको डा पाठक बताउँछिन्। “हामीले सिटी भ्यालुलाई विश्लेषण गरी ३५ भन्दा मुनिकालाई बलियो सङ्क्रमित मानेर पोजेटिभ रिपोर्ट दिने गरेका छौं, अहिले करीब सवा महीनादेखि सिटी भ्यालु निकै कम आइरहेको छ, यो चिन्ताको विषय हो, सिटी भ्यालु कम आउनुको मतलब सङ्क्रमितमा भाइरसको सङ्ख्या धेरै हुनु हो,” उनले भनिन्, “२४ भन्दामुनिका सङ्क्रमितलाई होम आइसोलेशनको मापदण्ड पूरा गरेमात्र घरमा बस्न नत्र कोभिड अस्पताल, सेमिआइसोलेशन वा क्वारेन्टाइनमैं बसेको ठीक हुन्छ।” बलियो सङ्क्रमित होम आइसोलेशनमा स्वास्थ्य मापदण्ड पूरा नगरी बसेमा घरपरिवारका सदस्यमा फैलिने खतरा हुन्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here