बारामा अर्का एक प्रहरीमा कोरोना सङ्क्रमण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पथलैया, ११ जेठ/
    जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत अर्का एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ। सर्लाही घर भई बारामा कार्यरत ४९ वर्षीय प्रहरी नायब निरीक्षकमा कोरोना सङ्क्रमण देखिएको हो।
    यसअघि बारा जेठ ७ गते प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको थियो। रौतहट घर भएका प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो।
    स्वाब नमूना पठाइएकामध्ये प्रहरी नायब निरीक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। सङ्क्रमित प्रहरी नायब निरीक्षकलाई कलैया अस्पतालको आइसोलेशनमा राखिएको प्रजिअ पण्डितले जानकारी दिए।
    योसँगै बारामा कोरोना सङ्क्रमण भेटिएको सङ्ख्या १३ पुगेको छ। यसअघि सिम्रौनगढ नगरपालिकामा ७, करैयामाई गाउँपालिकामा २, जीतपुरसिमरा उपमहानगरपालिकामा १, विश्रामपुर गाउँपालिकामा १ र एक प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको थियो।
    सङ्क्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिकाका एक र सिम्रौनगढका एक गरी दुईजना उपचारपछि शनिवार घर फर्किएका छन् । सङ्क्रमण देखिएकामध्ये कलैया अस्पतालमा ९ र वीरगंज अस्पतालमा एकजनालाई उपचारका लागि आइसोलेशनमा राखिएको छ।
    यसअघि बारा प्रहरीका एकजना प्रहरी सहायक निरीक्षकमा आरडिटीबाट कोरोना पोजेटिभ देखिएको थियो भने उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। उनलाई आइसोलेशनको छुट्टै शैøयामा राखिएको थियो। अब उनलाई डिस्चार्ज गरिनेछ, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस