थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

कञ्चनपुर, २७ वैशाख/रासस
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन् ।
छ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आएका छन् । चार वर्ष मलेशियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट रु सात लाख बढी आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारबाट फर्केर चौधरीले चार कट्ठा जग्गा खरीद गरेका थिए ।
सोही जग्गामा उनले बाह्रै महीना तरकारी खेती गर्दै आएका छन् । “थोरै जग्गा थियो”–उनले भने–“सातजनाको परिवारको खर्च चलाउन चुनौतीपूर्ण थियो, स्वामित्वको पाँच कट्ठा जग्गा मात्रै रहेकोमा घर फर्केर चार कट्ठा जग्गा थपें ।”
घरका लागि मात्रै थोरै तरकारीखेती गरिंदै आएको थियो । तरकारी खेती गर्ने तौरतरीका भएपनि आर्थिक अभाव थियो । वैदेशिक रोजगारबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारीखेतीमा संलग्न हुने चौधरीले निर्णय गरेका थिए ।
तरकारीखेतीमा परिवारका सदस्यले साथ दिने वचन दिएपछि त्यसमै होमिएको उनी बताउँछन् । पहिलो वर्ष नै तरकारीखेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारीखेतीलाई निरन्तरता दिंदै आएको उनले बताए । गत हिउँदमा चौधरीले काउलीबाट मात्रै रु ८० हजार र लहरेबालीबाट रु ६० हजार आम्दानी गरेका छन् ।
वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षात्का बेला लौका, काँक्रा, फर्सी र हिउँदका बेला काउली, गोलभेंडा, खुर्सानीको खेती गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी लिने गरेका छन् ।
परिवारका सातजनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिंदै आएको चौधरी बताउँछन् । वैदेशिक रोजगारबाट फर्केर किनेको चार कट्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको छ कट्ठा गरी १० कट्ठा जग्गा रहेको छ । चार कट्ठामा बाह्रै  महीना तरकारी खेती हुने गरेको छ भने छ कट्ठा जग्गामा गहुँ, धानलगायत खेती हुने गरेको छ । तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुर्‍याउनका लागि पूरै परिवार खट्ने गरेको छ । मोटरसाइकलमा तरकारी राखेर महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आएका छन् ।
“वैदेशिक रोजगारमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो”–उनले भने–“व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत ग¥यो, त्यति प्रतिफल हासिल हुन्छ । टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमैं जति कमाइ भए यसमैं सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन”–उनले भने ।
थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरिसकेको छ । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्ने गर्छन् ।
“थोरै जग्गामा बाह्रै महीना व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्छन्”–उनले भने–“उहाँको कार्यलाई अरू किसानले अनुसरण गरेर कार्य गर्न सक्नुपर्छ ।”
पिपलाडी नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्