प्रस, वीरगंज, २६ वैशाख/
कानून दिवसको अवसरमा पर्सा जिल्ला अदालतले शुक्रवार कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अदालत परिसरमा नवनिर्मित न्यायकी देवीको प्रतिमा अनावरण गरिएको थियो । सो प्रतिमाले नेपाली न्यायप्रणालीमा प्रतीकात्मक सुदृढीकरणको सङ्केत दिन्छ । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालले प्रतिमा अनावरण गर्दै न्यायकी देवीले कानूनप्रति श्रद्धा र न्यायप्रणालीप्रतिको विश्वासलाई प्रगाढ बनाउने दायित्वको स्मरण गराउने बताए । उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले कानून दिवसको शुभकामना मन्तव्य राख्दै जनताको मौलिक हकको संरक्षण, कानूनी चेतनामा अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महत्त्वबारे जानकारी गराएका थिए । उनले कानून दिवसलाई कानूनी अभ्यास, सुधार र सबैको पहुँचमा कानूनलाई ल्याउनुपर्ने माध्यमका रूपमा लिइनुपर्ने बताए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष कमलमोहन पोखरेल, वीरगंज स्कूल अफ लका अध्यक्ष चन्द्रिकाप्रसाद पटेल, कानून सङ्कायका विद्यार्थी, जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ता तथा कर्मचारीहरूको सक्रिय सहभागिता थियो ।
कार्यक्रममा अन्य वक्ताहरूले न्यायप्रणालीलाई अझ सरल, जनमुखी, समावेशी र आधुनिक बनाउनेतर्फ अदालत, कानून व्यवसायी तथा कानूनी शिक्षण संस्थाहरूबीच सहकार्य र संवाद अपरिहार्य रहेको धारणा राखे ।
कानून दिवसले कानूनी सचेतनाका साथै न्यायमा जनविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा लिएको वक्ताहरूले बताए ।
कार्यक्रममा दिवसले न्यायमा सुलभ पहुँच, न्यायप्रणालीको पारदर्शिता र कानूनी सशक्तीकरणमा टेवा पुर्याउने वक्ताहरूले विश्वास व्यक्त गरेका थिए ।