प्रस, परवानीपुर, २६ वैशाख/
आव २०७५/७६ मा पप्पु कन्स्ट्रक्शनलाई ठेक्का दिइएको तर लामो समयसम्म निर्माण कार्य हुन नसकेको वीरगंज महानगरपालिका वडा नं २१ परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्मको मुख्य सडक शुक्रवार अतिक्रमणमुक्त गरिएको
छ ।
नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा कार्यान्वयनमा आएको यो कारबाहीले वर्षौंदेखि अवरुद्ध रहेको सडक विस्तारलाई गति दिने अपेक्षा गरिएको छ । ठेक्का रद्द भएपछि स्वच्छन्द निर्माण सेवाले सो सडकखण्डको केही भागमा अवैधरूपमा संरचना बनाएको पाइएपछि महानगरपालिकाको भौतिक अतिक्रमण नियन्त्रण समितिले हस्तक्षेप गरेको छ ।
परवानीपुरका स्थानीयहरू रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतोलगायत केही व्यक्तिहरूले सडकको सरकारी जग्गामा बनाएका टहरा र संरचनाहरू हटाइएको हो । स्थानीय बासिन्दालाई आवतजावतमा परिरहेको समस्यालाई ध्यानमा राखी नगरप्रमुख सिंहले समस्या समाधानका लागि पहल गरेका थिए । अतिक्रमण हटाउने कार्यमा हरि पोखरेलको नेतृत्वमा अमिनसहितको टोली खटिएको थियो ।
अतिक्रमण हटाउने कार्यमा वडा नं २१ का अध्यक्ष राधाकृष्ण साह रौनियार, नगरप्रमुखका सचिवालय सदस्य नवराज फुयाँल तथा नगरप्रहरी प्रमुख हरिप्रसाद भुसालको रोहबरमा नक्शा अनुसार सडकका दुवैतर्फको क्षेत्र छुट्याइएको थियो । स्थानीय बासिन्दाले सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका छन् ।