मस्को, २६ वैशाख/सिन्ह्वा
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रूस विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् ।
उनले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसङ्घको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।
सीले चीन–रूस सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दिगो बनाइने बताए ।
उनले द्वितीय विश्वयुद्धको ८० औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रूस मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने कुरामा जोड दिंदै, बेल्ट एन्ड रोड पहल र युरेशियन आर्थिक सङ्घबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताए ।
शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकूदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीच सम्बन्ध अझ बलियो बनाइने उनले बताए । रासस