प्रस, वीरगंज, २६ वैशाख/
गरीब, असहाय र पीडित समुदायलाई राहत पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको वीरगंज कपडा बैंकले शुक्रवार घण्टाघरमा निश्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
“जोसँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस्, जसलाई आवश्यक छ, निश्शुल्क लिएर जानुहोस्” मूलमन्त्रलाई आत्मसात् गर्दै कपडा बैंकले नयाँ तथा पुराना गरी करीब ८५० थान कपडा वितरण गरेको छ । संस्थाका अध्यक्ष लालबाबू सिंहको सक्रियतामा भएको कार्यक्रममा अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी, अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतीश
सिंह राजपूत, हुकुम सिंह राजपूत, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, अजित भुजेल, किशोरलाल सिंह, नवराज भट्टराई, शोभा देवी, जानकी देवीलगायतको सक्रिय सहभागिता थियो ।
कार्यक्रममा अधिवक्ता कुर्मीले बैंकको छ वर्षे सेवाको चर्चा गर्दै भने, “बाढी, आगलागी जस्ता विपद्का बेला पीडितको घरआँगनमैं पुगेर कपडा र अन्य सामग्री प्रदान गर्नु वीरगंज कपडा बैंकको सदाशयता हो ।”
संस्थाले प्रत्येक हप्ता आइतवारदेखि शुक्रवारसम्म बिहान १०ः३० देखि दिउँसो ५ बजेसम्म वीरगंज–८ स्थित कार्यालयबाट सेवा दिंदै आएको छ । साथै, समुदायको पहुँचमा पुग्न प्रत्येक महीना विभिन्न स्थानमा विशेष वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।