पशुबीमा गराउने किसानहरू बालीबीमा भने गराउँदैनन्

प्रमोद यादव, पंचगावाँ, २५ वैशाख/

पर्सा जिल्लाका किसानहरू पशुबीमामा सक्रिय देखिए पनि बालीबीमामा भने उनीहरूको रुचि पटक्कै देखिएको छैन । सरकारले पछिल्लो समय पशुबीमा र बालीबीमाको प्रावधान लागू गरेको छ । किसानहरूलाई हुने क्षति न्यूनीकरणको लागि पशु र बाली बीमाको प्रावधान लागू गरिए पनि किसानहरूले अहिलेसम्म बालीबीमामा भने रुचि नदेखाएको पाइएको छ । बालीबीमाको फाइदाबारेमा किसानहरूलाई सचेतना नगराइएको र अन्य बीमाको क्षति पनि समयमा नपाउने गरेको कारण बीमाप्रति किसानहरूको आकर्षण बढ्न सकेको छैन । जिल्लाका वीरगंज महानगर, पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका र पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, ठोरीलगायतका गापामा पशुचौपाया पालन गर्दै आएका किसानहरूले पशुबीमा गराइरहेका छन् । खासगरी व्यावसायिकरूपमा पशुपालन र पक्षीजन्य कारोबारीहरूले पशुपक्षी बीमा गराएको पाइन्छ तर यसको अनुपातमा बालीबीमा भने गराएका छैनन् । पर्सागढी नगरपालिकाकी कृषि शाखा प्रमुख झरना क्षेत्रीले पशुबीमामा किसानहरूको रुचि रहेको तर बालीको बीमा गराउन उनीहरू सकस महसूस गरिरहेको बताइन् । उनले यसबारेमा किसानहरूलाई विभिन्न चरणमा सचेतना गराइएको तर बालीबीमामा उनीहरूले रुचि नदेखाएको बताइन् ।

पटेर्वासुगौली गाउँपालिकाकी कृषि शाखा प्रमुख सीमा चौधरीले आगामी आवमा बालीबीमा कार्यक्रम गापाले ल्याउने तयारी गरेको बताइन् । उनले यसबारेमा जनप्रतिनिधिहरूसँग पहल गरेको र आगामी आवदेखि बालीबीमा कार्यक्रम आफ्नो पालिकामा लागू गराइने बताइन् ।

जिल्लामा बर्सेनि हावाहुरी, बाढी, रोग तथा प्राविधिक समस्याबाट बालीहरूमा क्षति हुने गरेको छ । तर बीमा नगरिएको कारण किसानहरूले त्यसको क्षतिपूर्ति पाउन सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गर्ने तर सानातिना विपद्का घटनामा किसानहरूले राहत पाउने गरेका छैनन् । विभिन्न कारणबाट हुने बाली क्षतिका कारण जिल्लामा उत्पादनमा कमी हुने गरेको छ र यसबाट किसानहरू सीधैं प्रभावित हुँदै आएका छन् । बालीबीमा गराएका किसानहरूको सङ्ख्या निकै कम छ । बालीबीमामा बीमा कम्पनीहरूले पनि रुचि देखाएका छैनन् । किसानहरूबाट बीमा शुल्क असुल गर्न समस्या हुने र सानोतिनो बालीको बीमा गर्दा बढी क्षति बेहोर्नुपर्ने हुँदा बीमा कम्पनीहरूले यसतर्फ रुचि नदेखाएका हुन् । बीमासम्बन्धी नीतिहरू गाउँघरमा पुगेर किसानहरूलाई बताउन सकिएको खण्डमा बालीबीमातर्फ किसानहरूको आकर्षण बढ्ने सखुवाप्रसौनीका किसान कमल यादव बताउँछन् ।

सखुवाप्रसौनी गापाकी कृषि शाखा प्रमुख प्रिया साहले किसानहरूले बालीबीमामा रुचि नदेखाएका कारण आफूहरूले पनि यसमा चासो नराखेको बताइन् । उनले किसानहरूले रुचि देखाएको खण्डमा आफूहरूले समन्वयकारी भूमिका निर्वाह गर्न तत्पर रहेको बताइन् ।

पर्साका किसानहरूले मुख्यरूपमा धान, गहुँ, मकै, मसुरो, तोरी, सुर्ती, उखु र हरिया तरकारी खेती गर्दै आएका छन् । यस्ता प्रमुख बालीहरूको बीमा हुन सकेमा प्राकृतिक प्रकोप वा रोगले हुने क्षतिबाट किसानहरूले राहत पाउने थिए । पालिकाहरूले पनि बालीबीमा गराएर किसानहरूलाई राहत दिने योजना ल्याउन सकेको छैन । विभिन्न कारणबाट हुने बाली क्षतिपछि पालिकाले किसानहरूलाई राहत दिनुको साटो सो रकम बालीबीमामा खर्च गरे पालिकाहरूलाई पनि राहत दिनुपर्दाको अतिरिक्त भार वहन गर्नु नपर्ने किसान यादव बताउँछन् ।

कृषिलाई पर्सा जिल्लाका सबैजसो पालिकाले पहिलो प्राथमिकतामा राख्दै आएका छन् । असारमा हुने पालिकाहरूको नीति तथा कार्यक्रम र बजेट विनियोजनमा पनि कृषि पहिलो प्राथमिकतामा पारिने कुरामा दुई मत छैन । तर कृषि पेशामा लागेका किसानहरूलाई यो कर्म गर्नका लागि बीउबिजन, मल, पम्पसेट, मोटर, कीटनाशक औषधि आदिमा सुविधाका साथै उनीहरूले लगाउने बालीको पनि सुनिश्चितताको लागि बीमा गराउने कार्य गरिएको खण्डमा पर्सेली किसानहरूलाई ठूलो राहत पुग्ने थियो ।
यो जिल्लामा धान मुख्य वर्षे बाली हो, जुन असार र चैतमा रोपाइँ गरिन्छ । यसैगरी, गहुँ हिउँदे बाली हो जुन मङ्सिर, पुसमा बीउ छरिन्छ ।

मकै भने वर्षा र हिउँद दुवै समयमा लगाइन्छ । तोरी, मसुरो, आलु बाली गहुँबालीसँगै लगाइन्छ । हरिया तरकारी काउली, बन्दाकोबी, गोलभेंडा, काँक्रो, लौका, करैला, फर्सी, मसला बाली प्याज, लसुन, धनिया, मेथी अनि केरा, अम्बा, मेवा, लिची, आँपलगायतका फलफूलखेती पनि गरिन्छ । तर यी सबै बालीहरूको किसानहरूले बीमा भने गराएका छैनन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्