घरधनीहरूले कर नतिरे सेवा कटौतीसहितको कारबाहीको चेतावनी

प्रस, वीरगंज, २५ वैशाख/

वीरगंज महानगरपालिका र वीरगंजका घरधनीहरूबीच बिहीवार घरबहाल कर सम्बन्धमा छलफल सम्पन्न भएको छ ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा भएको छलफलमा घरधनीहरूले बहालकरप्रति कानूनी जिम्मेवारी स्वीकार्दै कर तिर्न सहमत भएका छन् ।

नगरप्रमुख सिंहले छलफलमा उपस्थित घरधनीहरूलाई कर तिरेर जिम्मेवार नागरिक बन्न आग्रह गरेका थिए । उनले कर प्रणालीलाई सहज बनाउन महानगर प्रतिबद्ध रहेको र यस कार्यमा नगरवासी सहयोगी भूमिकाको लागि अनुरोधसमेत गरेका थिए ।

छलफलमा घरबहाल करका विषयमा उठेका प्रमाण र कागजातहरूलाई महानगरको नक्शा शाखा र राजस्व शाखाले संयुक्त टोली बनाइ स्थलगत अनुगमन गर्ने निर्णयसमेत भएको छ । उक्त टोलीले बहालमा रहेका सम्पत्तिहरूको भौतिक निरीक्षण गरी अभिलेख अद्यावधिक गर्नेछ । यदि कुनै संरचना नक्शापासविपरीत बनेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ । यस्ता संरचनाबारे घरधनीहरूसँग पूर्वसूचना र प्रमाणसहितको प्रक्रिया पूरा गरेर कानूनी कारबाही थालिने छलफलमा बताइएको थियो ।

महानगरले पटकपटक पत्राचार गर्दा पनि छलफलमा अनुपस्थित हुने तथा कानूनी दायरामा आउन आनाकानी गर्ने घरधनीहरूमाथि पहिलो चरणमा महानगर र मातहत कार्यालयहरूले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवासुविधा बन्द गरिने चेतावनी महानगरले दिएको छ । यस्ता घरधनीहरूको विरुद्धमा अन्य सार्वजनिक सेवाप्रदायक निकायहरूलाई समेत पत्राचार गरेर सेवाप्रवाह रोक्न महानगरले पहल गर्ने जनाएको छ ।

छलफलमा उपस्थित नभएका घरधनीहरूलाई अन्तिमपटक ४८ घण्टे सूचना दिंदै सबूत प्रमाणसहित महानगरमा उपस्थित भई प्रक्रिया पूरा गर्न आग्रह गर्ने निर्णय भएको महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले जानकारी दिए । यसैगरी, घरबहाल कर बहालमा लगाउने पक्षले तिर्नुपर्ने कानूनी व्यवस्था भएकोले आगामी दिनमा घर बहालमा दिने घरधनीहरूले भाडामा दिने व्यक्तिसँगको सम्झौतामा स्पष्टरूपमा बहाल करसम्बन्धी व्यवस्था समेट्नुपर्नेछ । त्यस्तै, भाडामा बस्ने व्यक्तिले पनि हरेक महीनाको बहाल बुझाउँदा अघिल्लो महीनाको बहाल कर महानगरमा बुझाइएको छ वा छैन भन्ने जानकारी दिनुपर्नेछ । यसले दुवै पक्षलाई पारदर्शी बनाउने र कर सङ्कलन प्रभावकारी हुने अपेक्षा गरिएको प्रमुख कर्णले बताए ।

बिहीवार पहिलो चरणमा घण्टाघर लिंकरोड क्षेत्रका घरधनीहरूलाई छलफलमा बोलाइएको थियो । छलफलमा लिंकरोड क्षेत्रका घरधनीहरू शङ्करप्रसाद जयसवाल, सञ्जयप्रसाद साह, गिरीशप्रसाद सिंहलगायतको सहभागिता थियो । उनीहरूले महानगरको प्रयासलाई सकारात्मकरूपमा लिंदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । महानगरपालिकाको तर्फबाट राजस्व महाशाखा प्रमुख मनोज कर्ण, आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, कानून शाखाका ईश्वर बराल र नक्शा शाखाका गौरव झाले घरधनीहरूलाई बहाल कर, संरचनाको नक्शा पारित प्रक्रिया र प्रचलित कानूनी व्यवस्थाहरूको विस्तृत जानकारी गराएका थिए ।

बहाल कर प्रणालीलाई व्यवस्थित, कानूनी र उत्तरदायी बनाउन महानगरले घरधनीहरूसँग छलफल आयोजना गरेको हो । अभियानकै रूपमा रहेकाले हरेक क्षेत्रका घरधनीसँग छलफल गर्नुका साथै बहाल कर सङ्कलनलाई पनि तीव्रता दिने महानगरको तयारी छ । वीरगंज महानगरमा कर प्रणालीलाई व्यवस्थित गर्दा नगरको पूर्वाधार विकास र सेवाप्रवाहमा टेवा पुग्ने नगरप्रमुख सिंहले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्