प्रस, वीरगंज, २५ वैशाख/
नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैधरूपमा भारत प्रवेश गरिरहेका चारजना शङ्कास्पद चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल–भारत मैत्री पुलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको हुवान प्रान्तको हुनान सिटी निवासी डेन बिजोन, हि क्यु हेनसेन, लि युङ्गाधोई र हुवाग लिविग रहेका छन् । भारतीय प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् । के कति कारणले उनीहरू भारत जान लागेका अहिलेसम्म भारतीय प्रहरीले खुलाएको छैन । बयानको क्रममा पक्राउ परेका ती चिनियाँ नागरिकहरू नेपाली, हिन्दी, अङ्ग्रेजी र चिनियाँ भाषा बोलिरहेको भारतीय प्रहरीले जनाएको छ ।
ती चिनियाँ नागरिकहरूको सम्बन्ध पाकिस्तानसँग रहेको सङ्केत भेटिएको भारतीय प्रहरी जनाएको छ । भारतीय प्रहरी स्रोतका अनुसार पाकिस्तानी नागरिकसँग उनीहरूको सम्पर्क रहेको र भारतमैं रहेका पाकिस्तानी नागरिकलाई भेट्न उनीहरू भारत जाँदै गरेको हो । ती चिनियाँ नागरिकहरू पछिल्लो एक हप्तादेखि काठमाडौंमा थिए । उनीहरूले भारतमा अवैधरूपमा प्रवेश गर्नुका कारणबारे सोधपूछको क्रममा केही नबताएको भारतीय प्रहरीले जनाएको छ ।
भारतको ‘अपरेशन सिन्दूर’पछि नेपाल–भारत सीमानाकामा एसएसबी उच्च सतर्कतामा छ । सोही क्रममा नेपालबाट भारत र भारतबाट नेपाल जाने सबैको रक्सौल सीमामा कडाइका साथ जाँच गरिंदैछ । भारत प्रवेश गर्ने सबै व्यक्तिको परिचयपत्र कडाइका साथ जाँच भइरहेको छ ।