प्रस, निजगढ, २५ वैशाख/
प्रथम विकल रेग्मी स्मृति जुनियर फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो खेलमा वडा नं १ को टीम विजयी भएको छ ।
आज भएको पहिलो चरणको खेलमा वडा नं १ र वडा नं १३ का टीमबीच कडा प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको दोस्रो हाफको दोस्रो मिनेटमा वडा नं १ का जर्सी नं १६ का प्रकाश मोक्तानले गोल गरेका थिए । सोही गोल निर्णायक गोल हुन पुगेसँगै शून्यका विरुद्ध एक गोलअन्तरले वडा नं १ का टीम विजयी भएको हो ।
आजको पहिलो खेलका विजयी टीमका गोलकर्ता प्रकाश मोक्तान नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई एक हजार नगद र ट्रफी वडाध्यक्ष मङ्गल लोप्चन र स्व विकल रेग्मीकी आमा कमला रेग्मीले संयुक्तरूपमा प्रदान गरे ।
त्यसैगरी, आज भएको दोस्रो चरणको खेलमा पेनाल्टी प्रहारबाट वडा नं ७ को टीम विजयी भएको छ । वडा नं ७ को टीमका जर्सी नं ८ का उज्ज्वल मगरले दोस्रो हाफको सातौं मिनेटमा गोल गरी टीमलाई अग्रता दिलाए पनि वडा नं २ का जर्सी नं ७ का पुुष्कर क्षेत्रीले दोस्रो हाफ खेलको १२औं मिनेटमा गोल फर्काएपछि निर्धारित खेल अवधिभर बराबर समान एक/एक गोल गरेसँगै पेनाल्टी सुट आउटमा जानुुपरेको थियो । उक्त पेनाल्टी प्रहारमा वडा नं ७ को टीम विजयी भएको हो ।
आजको दोस्रो खेलका विजयी टीमका जर्सी नं १० का राम अर्जेलले उत्कृष्ट खेल प्रर्दशन गरेबापत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई एक हजार नगद र ट्रफी वडाध्यक्ष टेकबहादुुर लामा, स्व विकल रेग्मीकी आमा कमला रेग्मी र बाराका पत्रकार गोकुल घोरसाइनेले संयुक्तरूपमा प्रदान गरेका थिए ।
भोलि हुने दुुई चरणको क्वार्टरफाइनल खेलमा पहिलो चरणमा वडा नं ३ र वडा नं ४ र दोस्रो चरणको खेलमा वडा नं ८ र वडा नं ११ टीमबीच कडा प्रतिस्पर्धा हुने प्रतियोगिता व्यवस्थापक निजगढ फूटवल क्लबका अध्यक्ष शम्भु थापाले बताएका छन् ।