नयाँ दिल्ली, २४ वैशाख/एएनआई/एएफपी
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाई अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरूबाट भारतमाथि हुने आतङ्की आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।
यो कारबाई अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतङ्की शिविरहरूलाई मात्र निशाना बनाइएको हो ।”
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारतको कारबाईलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् र कडा जवाफ दिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घले दुवै पक्षलाई संयम धारण गर्न आग्रह गरेको छ । उसले भनेको छ–“दुई आणविक शक्तिबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।”
भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा
मुजफ्फराबादमा/एएफपी
भारत र पाकिस्तानले बुधवार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेका छन् । नयाँ दिल्लीले आफ्नो चिर प्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ ।
दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित कश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ । “अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन्”– पाकिस्तानी सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले बताए ।
विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामाबादलाई दोष दिएको केही दिनपछि नयाँ दिल्लीले पाकिस्तान प्रशासित कश्मीर र पञ्जाब राज्यका नौ ठाउँमा ‘आतङ्कवादी शिविरहरूमा सटीक आक्रमण’ गरेको घोषणा गरेको छ । भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ । नयाँ दिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैरविस्तारवादी प्रकृतिको छ’ भनेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाई गरेको बताए ।
“प्रतिकार पहिले नै शुरू भइसकेको छ”–आसिफले एएफपीलाई भने–“हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौं ।” गोलाबारीको वर्षा इस्लामाबादले आक्रमणमा एक बालकसहित आठजना सर्वसाधारण मारिएको बताएको छ र पाकिस्तानद्वारा सञ्चालित कश्मीर र पञ्जाबमा एएफपीका संवाददाताहरूले धेरै ठूलो विस्फोट सुनेको रिपोर्ट गरेका छन् ।
पाकिस्तान प्रशासित कश्मीरको मुख्य शहर मुजफ्फराबादमा सैनिकहरूले मस्जिद वरपरका सडकहरूमा घेरा हालेका छन्, जसमा धेरै घरहरूको भित्तामा विस्फोटका चिह्न देखिएका छन् ।
त्यसको केही समयपछि भारतीय सेनाले पाकिस्तानमाथि, कश्मीरको वास्तविक नियन्त्रण रेखा (एलओसी) पार गरेर अन्धाधुन्ध गोली चलाएको आरोप लगायो । गोली बर्सिंदा आगोका झिल्काहरू देखिएको एएफपी रिपोर्टरहरूले देखे ।
“तीन निर्दोष नागरिकहरूले ज्यान गुमाए”–आफूले उचित जवाफ दिइरहेको उल्लेख गर्दै भारतीय सेनाले भनेको छ ।
“हामी गोली चलेको आवाज सुनेर ब्यूँझियौं”–भारतीय पुछ शहरका फारूक नामक एक व्यक्तिले प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई आफ्नो अस्पतालको शय्याबाट बताए–“मैले गोलाबारीको वर्षा जस्तै देखें… दुईजना घाइते भए ।” उनको टाउकोमा पट्टी बाँधिएको थियो । कश्मीरको भारतीय नियन्त्रित भागमा रहेको वुयानमा एएफपी फोटोग्राफरले भारतीय लडाकू जेटको भग्नावशेष देखेका थिए ।
एक सुरक्षा स्रोतले यो भारतीय विमान भएको पुष्टि गयो, तर यसको दुर्घटनाको कारण र पाइलटको अवस्था तत्काल थाहा हुन सकेन ।
भारत प्रशासित कश्मीरमा अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणमा पाकिस्तान समर्थित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाका बन्दूकधारीहरूले गरेको आक्रमणप्रति भारतले सैन्य प्रतिक्रिया दिने व्यापक अपेक्षा गरिएको थियो । त्यस आक्रमणमा पहलगामको पर्यटकीय केन्द्रमा २६ जनाको मृत्यु भएको थियो, मारिने हिन्दू पुरुषहरू थिए । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
नयाँ दिल्लीले इस्लामाबादमाथि आक्रमणको समर्थन गरेको दोष लगाएको छ, जसले शृङ्खलाबद्ध धम्की र कूटनीतिक बदला लिने निहु निम्त्याएको छ ।
पाकिस्तानले आरोप अस्वीकार गरेको छ । भारतीय सेनाका अनुसार दुवै पक्षले अप्रिल २४ देखि एलओसी सीमामा रातभरि गोलीबारी भएको छ । पाकिस्तानले दुई क्षेप्यास्त्र परीक्षण पनि गरेको बताएको छ ।
अधिकतम संयम
सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यमा उपमहाद्वीपबाट अलग भएदेखि धेरै युद्धहरू लडेका दक्षिण एशियाली यी दुई छिमेकीबीचको हिंसा एक खतरनाक तनाव हो । कूटनीतिज्ञहरूले नेताहरूलाई युद्धको संघारबाट पछि हट्न दबाब दिएका छन् । “संसारले भारत र पाकिस्तान बीचको सैन्य द्वन्द्व थेग्न सक्दैन”–संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले एक वक्तव्यमा भने । गुटेर्रेसले अधिकतम संयम राख्न आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनमा पत्रकारहरूलाई लडाइँ धेरै चाँडै समाप्त हुने आशा गरेको बताए । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले आक्रमणपछि नयाँ दिल्ली र इस्लामाबादका शीर्ष सुरक्षा अधिकारीहरूसँग कुरा गरेका छन् ।
रूबियोले आपूmले स्थितिलाई नजीकबाट निगरानी गरिरहेको र शान्तिपूर्ण समाधानका लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैलाई संलग्न गर्न जारी राख्ने बताए ।
भारतीय सेनाले लक्ष्य चयन र कार्यान्वयनको विधिमा पर्याप्त संयम प्रदर्शन गरेको भन्दै कुनै पनि पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरिएको छैन भनी जोड दिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणलाई अकारण र कायरतापूर्ण भन्दै आक्रमणको जघन्य कार्य सजायबाट वञ्चित हुने छैन भने ।
भारत प्रशासित कश्मीरमा विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् ।
भारतले नियमित आफ्नो छिमेकीलाई कश्मीरमा आफ्ना सेनाविरुद्ध लड्ने सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोप लगाउने गरेको छ । आरोपलाई इस्लामाबादले भने अस्वीकार गर्ने गरेको छ ।
तेहरानले मध्यस्थता गर्न खोज्दा इरानी विदेशमन्त्री अब्बास अराघची इस्लामाबादको भ्रमणको दुई दिनपछि बुधवार नयाँ दिल्ली आउने अपेक्षा गरिएको छ । भारतले पनि बुधवार धेरै नागरिक सुरक्षा अभ्यास गर्ने तयारी गरेको थियो । स्थानीय सरकारी अधिकारीहरूका अनुसार पाकिस्तानको पञ्जाबमा विद्यालयहरू बन्द थिए ।
आक्रमणहरू मोदीले भारतको सीमा पार गर्ने पानी रोकिने बताएको केही घण्टापछि भएको थियो । पाकिस्तानले भारतबाट आफ्नो क्षेत्रमा बग्ने नदीहरूसँग छेडछाड गर्नु युद्धको कार्य हुने चेतावनी दिएको थियो । रासस