प्रमोद यादव, पंचगावाँ, २३ वैशाख/
सखुवाप्रसौनी गाउँपालिका–१ मधुवनमथवलका किसानहरूले पालिकाले वितरण गरेको अनुदानको मकैबीउमा खराबी देखिएको र त्यसले बालीलाई क्षति पुगेको बताएका छन् ।
गापाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको र सो बीउ लगाएका वडा नं १ मधुवनमथवलका किसानहरूको बाली खराब भएको बताइन्छ । आफूहरूले लगाएको ५० बिघा बढी मकैखेतीमा घोघामा दाना नलागेको, केही घोघामा दाना छिटपुट लागेको किसान सुरेन्द्र महतोले बताए ।
उनले यसबारेमा वडा कार्यालयमा तीन/चार पटक बैठक बसेको तर कसैले जिम्मेवारी नलिएको बताए । वडाध्यक्ष वासुदेव महतो थारूले सन्दीप एग्रो सप्लायर्सले मकैको बीउ सम्झौता गरेर वितरण गरेको भन्दै उसैले क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन् ।
कृषि शाखा प्राविधिक दयाराम वाग्लेले पनि वडाध्यक्षको भनाइ दोहो¥याउने गरेका छन् तर किसानहरूले भने क्षतिपूर्ति पाउन सकेका छैनन् । पर्सा जिल्लामा यसै कारण किसानहरू अनुदानको बीउ लिन रुचाउँदैनन् ।
गहुँ, धान, मकैलगायत बालीका लागि पालिकाहरूले अनुदानमा दिने बीउ कमसल हुनाले उत्पादन नबढ्ने जस्ता समस्याहरूले अनुदानको बीउभन्दा अन्यत्रबाट नै बीउ खरीद गरिन्छ । अनुदानमा बीउ लिंदा सधैं समस्याग्रस्त हुने गरेको किसानहरूले आरोप लगाएका छन् ।
पालिकाबाट अनुदानमा बीउ लिने किसानहरूले कृषि बीमा पनि गरेका छैनन् । पालिकाले सप्लायर्सको टाउकोमाथि जिम्मेवारी थोपर्ने गर्छ भने सप्लायर्ससम्म आम किसानको पहुँच नै हुँदैन । किसानहरूले सप्लायर्सबाट क्षतिपूति दिलाउने जिम्मेवारी पालिकाको नै रहेको बताउँछन् ।
सप्लायर्स खडा गर्ने पालिका, वडापालिकाले खेती खराब भएपछि सप्लायर्सबाट क्षतिपूर्ति दिलाउने साहस जुटाउनुपर्ने किसानहरूको माग छ । तर अनुदानको बीउमा कमिशनको ठूलो चलखेलले गर्दा पालिकाहरूले सप्लायर्सको कठालो समाउन साहस जुटाउन सकेका छैनन् ।