रास्वपा सांसदद्वारा नीति तथा कार्यक्रमको आलोचना

काठमाडौं, २३ वैशाख/रासस

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमैं सीमित रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सरकारले गत शुक्रवार ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् ।

उनले भने, “यो थाकेको सरकारले जाँगर नचलाइ ल्याएको पुरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ, कृषिलाई व्यापारसँग जोडिएको छ, नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिंदैन ।” सरकार गठनको क्रममा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ ।

काङ्ग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि सरकार गठन भएको १० महीनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए ।

नेता वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए । आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनप्र्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको टिप्पणी गरे ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले संविधानको धारा १७ (क)मा फरक विचार राख्ने व्यक्तिलाई स्वतन्त्रताको हकलाई बेवास्ता गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । उनले भने, “कृषिका क्रान्ति गर्ने भनिएको छ, तर एउटा माछा बेच्न सकिंदैन, देशमैं उत्पादन भएको जुम्लाको स्याउ बेच्न सकिएको छैन, कम्तीमा कृषिजन्य पदार्थ बाहिरबाट आयात नगर्ने नीति बनाइयो भने जनता आफैं उत्पादनमा लाग्छन् ।”

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्