वाशिङ्टन, २२ वैशाख/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार हलिउड विनाश भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाबाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् ।
ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको शिकारमा परेको बेला यो घोषणा आएको छ, जसमा ट्रम्पले विश्वभरिका देशहरूमा व्यापक कर लगाएका छन् ।
“म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त शुरू गर्न अधिकार दिंदैछु”–उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्–“हामी चलचित्रहरू फेरि अमेरिकामैं बनेको हेर्न चाहन्छौं ।”
वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने–“हामी यसमा काम गरिरहेका छौं ।” कर कसरी कार्यान्वयन गर्ने भन्नेबारे कुनै विवरण दिइएको छैन । धेरै सामानमा १४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारु व्यापार नीतिको भार लिएको चीनले गत महीना आपूmले आयात गरेको अमेरिकी चलचित्रको सङ्ख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो ।
“अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्”– उत्पादन अन्य देशहरूमा आकर्षित हुनु राष्ट्रिय सुरक्षा खतरा भएको दाबी गर्दै ट्रम्पले आइतवार लेखेका छन्–“हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।”
चलचित्र उद्योगका लागि करहरू कसरी लागू गर्ने भन्ने तत्काल स्पष्ट छैन । हलिउड संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो । यस क्षेत्रले मोशन पिक्चर एशोसिएशनको पछिल्लो तथ्याङ्क अनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगार र दुई खर्ब ७९ अर्ब डलरको बिक्री गरेको थियो ।
तर हडताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा उद्योगले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न सङ््घर्ष गरिरहेको उद्योगमा संलग्नहरूले बताएका छन् । हडताल र कोभिड महामारीले अमेरिकीहरूले चलचित्र थिएटरमा भन्दा घरमा हेर्न रोजेका छन् ।
उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित शीर्ष फिल्म केन्द्र हो । यद्यपि त्यो रकम दुई वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ ।
यद्यपि स्टुडियो कार्यकारीहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मन पर्ने उत्पादन स्थान प्रस्तावमा प्रतिस्पर्धी कर प्रोत्साहन योजनाका कारण संयुक्त राज्य अमेरिका बाहिर परेको खुलासा गरेको छ ।
पहिलो टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया थिए । क्यालिफोर्निया छैटौं स्थानमा आएको छ।
जनवरीमा आफ्नो पदग्रहण अघि ट्रम्पले लामो समयदेखि समर्थकहरू सिल्भेस्टर स्टेलन, मेल गिब्सन र जोन भोइटलाई हलिउडका विशेष दूतका रूपमा नियुक्त गरेका थिए ।
उनले ट्रुथ सोशलमा एउटा पोस्टमा मनोरञ्जन उद्योगलाई पहिलेभन्दा अझ बलियो बनाउने बताएका छन् । ट्रम्प र रिपब्लिकनहरूले परम्परागतरूपमा मनोरञ्जन उद्योगबाट थोरै समर्थन पाएका छन् । टेलर स्विप्mटदेखि जर्ज क्लुनीसम्मका स्टारहरूले गत राष्ट्रपति चुनावमा डेमोक्रेट कमला ह्यारिसलाई समर्थन गरेका थिए । रासस