वाशिङ्टन, २२ वैशाख/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण गरी खोल्न निर्देशन दिएको बताएका छन् ।
यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित छ र छ दशक अघि बन्द भएको थियो ।
“पुनर्निर्माण गर्नुहोस् र अल्काट्राज खोल्नुहोस्”–रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्–“आज म कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटी सबै मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न अल्काट्राज पर्याप्तरूपमा विस्तारित र पुनर्निर्माण गरी फेरि खोल्न निर्देशन दिंदैछु ।”
अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज मात्र २९ वर्ष खुला रहेपछि सञ्चालन खर्च उच्च भएका कारण सन् १९६३ मा बन्द भएको थियो र अहिले यसले पर्यटकीय आकर्षणका रूपमा सेवा गर्छ ।
सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर टाढा अवस्थित र मात्र ३३६ कैदी क्षमता भएको यो कारागारमा निषेध युगका माफिया नेता अल कापोनजस्ता केही प्रख्यात अपराधीहरू राखिएका थिए ।
“विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई थप हानि गर्न सक्ने अवसरबाट टाढा राख्न निर्माण गरेको कारागार खोल्न हच्किदैनौं । अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौं, जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन् ।”
टापु किल्ला अमेरिकी सांस्कृतिक इतिहासमा, सन् १९६२ मा तीन कैदी विशेषगरी, फ्रान्क मोरिस भागेपछि समावेश भयो र क्लिन्ट इस्टउडले अभिनय गरेको ‘एस्केप फ्रम अल्काट्राज’ फिल्मको प्रेरणा बन्यो ।
यो कारागार अन्य कुनै पनि सङ्घीय कारागारभन्दा तीन गुणा बढी सञ्चालन खर्च लाग्ने भएकोले मोरिस भागेलगत्तै सन् १९६३ मार्च २१ मा बन्द गरिएको थियो ।
प्रमुख खर्च टापु भौतिकरूपमा टाढा भएकोले खाना, आपूर्ति, इन्धन र यहाँसम्म कि पिउने पानी पनि हरेक हप्ता टापुमा लैजानुपथ्र्यो ।
कारागार ब्युरोका अनुसार सञ्चालन खर्चका अतिरिक्त मरम्मत र पुनस्र्थापना कार्यका लागि मात्र अनुमानित ३० लाख डलरदेखि ५० लाख डलर थप आवश्यक पथ्र्यो ।
हरेक वर्ष १० लाखभन्दा बढी आगन्तुक ल्याउँदै यो सन् १९७३ मा पर्यटक स्थलका रूपमा फेरि खुलेको थियो ।
“यो अहिले एक धेरै लोकप्रिय राष्ट्रिय पार्क र प्रमुख पर्यटकीय आकर्षण हो”– सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्ने हाउसकी पूर्व सभामुख न्यान्सी पेलोसीले सामाजिक सञ्जाल एक्समा भनेकी छन्– “राष्ट्रपतिको प्रस्ताव गम्भीर छैन ।”
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत हप्ता अमेरिकाले निर्वासनमा परेका २५० जनाभन्दा बढी भेनेजुएलाली र साल्भाडोरेलीलाई जानाजानी उचित अधिकारबाट वञ्चित गरिरहेको देखिन्छ भनी बताएका थिए । रासस