महानगरका कबाड व्यवसायीले मन्त्रीलाई गुहारे

प्रस, वीरगंज, २२ वैशाख/

कबाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूहरूलाई व्यवसाय गरेर गरिखान नदिएको भन्दै समाजले सोमवार मन्त्री गुप्तालाई ज्ञापनपत्र बुझाएको थियो ।

काठमाडौं महानगरपालिकाले १८ महीनादेखि कबाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले पेशागतहित र जीउधनको सुरक्षाका लागि मन्त्रीसँग गुहार गरेका हुन् ।

काठमाडौं महानगरले १८ महीनादेखि प्रहरी परिचालन गरी कबाड व्यवसायी, सङ्कलक मजदूरहरूमाथि कुटपिट गर्ने, कबाड व्यवसायीका संरचनाहरू भत्काउने, सङ्कलक मजदूरका साइकल र सामान जफत गरिरहेको समाजका अध्यक्ष रामकेवल गुप्ताले आरोप लगाए । उनले महानगर प्रहरीको कुटपिटका कारण कबाड व्यवसायी र सङ्कलकहरूको टाउको फुटेको र नगरप्रमुख साहले गरीब जनता गरिखाने वर्गलाई हटाउन खोजेको आरोप लगाए ।

कबाड व्यवसायी र सङ्कलकमाथि भइरहेको यस प्रकारको ज्यादतीलाई तत्काल रोक्न लगाइ व्यवसायीको जीउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका थिए ।

कबाड व्यवसायीहरू सरकारको प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको अनुमतिमा सरकारलाई तिर्नुपर्ने करहरू तिर्दै महानगरका विभिन्न वडाहरूमा कबाड व्यवसाय सञ्चालन गर्दै आएकामा अहिले उनीहरूमाथि महानगरले अनावश्यक दुःख दिइरहेको गुनासो गरेका थिए । उनीहरूले देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कबाड व्यवसायीले आपूर्ति गर्दै आएको, वातावरणीय सरसफाइमा योगदान दिएको र देशको व्यापार घाटा कम गर्न कबाड व्यवसायको भूमिका प्रमुख रहेको बताए । अध्यक्ष गुप्ताले कबाड व्यवसायमा महानगरमा प्रत्यक्ष रोजगारमा एक लाख मानिस आबद्ध रहेको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्