मेरा पढने में नहीं लागे मन

•अनन्तकुमार लाल दास

मधेस आन्दोलनपछि मधेसको शिक्षामा ह्रास आएको छ । वर्तमानको समस्या भनेको विद्यार्थीहरूमा पढ्ने संस्कृतिमा कमी देखा पर्नु हो । आजका विद्यार्थीहरू विद्यालय होस् वा घर, पढ्न रुचाउँदैनन् । कक्षामा उनीहरू पढेको जस्तो देखिए तापनि परीक्षामा सफल भइरहेका छैनन् । यहींनिर अचेलका विद्यार्थीहरू किन पढ्न रुचाउँदैनन्, यो हामी सबैसामु गम्भीर प्रश्न बनेको छ । शिक्षकहरूको यही गुनासो छ । अभिभावकहरूको यस्तै बिलौना छ । शिक्षाशास्त्रीहरूको पनि यस्तै विश्लेषण छ । तपाईंका सन्तति, तपाईंका विद्यार्थी पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन सक्छन् । तपाईं पनि यही समस्याको निकास खोजी राख्नुभएको होला । हुन सक्छ तपाईंंका विद्यार्थी उमेरगत कारणले साथीहरूसँग (राम्रो वा नराम्रो) बढी समय व्यतीत गरिराखेका होलान् तर त्यति मात्रले यस प्रश्नको जवाफ फेला पर्दैन ।

यस प्रश्नको जवाफलाई हाम्रो सन्दर्भमा हेर्नुपर्ने भएको छ । अध्ययन गर्ने प्रवृत्तिमा आउँदै गएको ह्रासले गर्दा विद्यार्थीहरूको क्षमतामा असर परिरहेको छ, जुन उसको करियरसँग जोडिन जान्छ । उसको अभिभावकको सपनासँग ठोकिन जान्छ । यस कारण यसको सूक्ष्म विश्लेषण हुनु आवश्यक छ । लाख रुपियाँको प्रश्न छ, अनुसन्धान गर्ने कसले ? स्थानीय तहमा शिक्षालाई हेर्ने अधिकारी शिक्षाको आर्थिक मह काढ्नमा मात्र तल्लीन छन् । शैक्षिक सङ्गठनहरूलाई केवल आफ्नो पेशागत र व्यावसायिक स्वार्थले मात्र अल्झाएको छ । बिचरा विद्यार्थी सङ्गठनहरू त आप्mनो भन्दा पनि दलगत हितका लागि लड्नमैं व्यस्त छन् । विद्यालय विशेषले किन बेकारमा यस्तो टाउको दुखाउनु । गैरसरकारी संस्थाहरूको आप्mनै कर्मकाण्ड छ । केही सातापूर्व वीरगंजमा शैक्षिक अभियानसम्बन्धी हाउगुजी गरिएको एउटा कार्यक्रम सम्पन्न भयो तर त्यो कर्मकाण्डमैं सीमित रह्यो । त्यसैले गैरसरकारी संस्थाहरूसँग पनि यस विषयमा केही होला भन्ने लाग्दैन ।

सरसर्ती हेर्दा अध्ययनमा रुचि घट्नुका पछाडि केही प्रस्ट कारणहरू छन् । ती सामाजिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक तहसम्म जोडिन पुग्छन् । यी प्रश्नहरूको जवाफ यिनै परिप्रेक्ष्यहरूमा घोत्लिंदा केही पाउन सकिन्छ होला । सामाजिक कारणलाई बुझ्दा के पत्ता लाग्छ भने अभिभावकहरू लापरवाह छन् । उनीहरूलाई लाग्छ कि मैले विद्यार्थीलाई विद्यालयमा भर्ना गराइदिएकै छु, बाँकी काम विद्यालयको हो । विद्यालयले ठान्छ, हामीले त विद्यालय समयमा सिकाउने पो हो, सम्झाउने पो हो, पढ्ने काम त घरमैं बढी गर्नुपर्छ । त्यतिखेरको निगरानी अभिभावकको हो । शिक्षकहरूलाई लाग्छ, यसको खबरदारी कक्षा शिक्षकले गर्नुपर्ने हो । कक्षा शिक्षकहरू सोच्छन्, यो काम त विषयगत शिक्षकहरूको हो । यसरी यस चक्रले पनि अलमलमा पारिरहेको छ र विद्यार्थीहरूमा पढ्ने दबाब घट्दै गइरहेको छ ।

यसैसँग जोडिएर आउँछ, विकसित हुँदै गइरहेको सामाजिक परिवेश । टेलिभिजन, इन्टरनेट, मोबाइल, साथीहरूसँगको बैठकी जस्ता फेशनले पनि पढाइलाई असर पारेको छ । विद्यार्थीका लागि अभिभावकहरूसँग समयको अभाव छ तर मोबाइलका लागि प्रशस्त समय रहेको छ । सञ्चार प्रविधिको बढ्दो प्रभाव तर सानैदेखि विद्यालयसँगको सम्बन्धले गर्दा उनीहरूमा श्रवण गरेर, हेरेर र भोगेर ग्रहण गर्ने क्षमता बढेको छ । त्यसले गर्दा अहिलेको नातिपुस्ता औसतरूपमा तीखो देखिएको छ । यसलाई कुशाग्रबुद्धि भएको वा हाजिरजवाफी भएको भन्न सकिन्छ ।

यसैसँग विद्यालय र घरबीचको दूरीले पनि विद्यार्थीहरूलाई अन्यत्र मोडेको छ । स्वयम् घरमा पनि अध्ययन संस्कृतिको अभावले मलजल गरिरहेको पाइन्छ । टेलिभिजन र मोबाइलको पहुँचसँगै पुस्तक पढ्ने संस्कृतिमा ह्वात्तै ह्रास आएको छ । अभिभावक आपैंm पढिरहँदा सन्तानमा पनि त्यसको दबाब र प्रभाव पथ्र्यो । ऊ पनि पढ्नेतिर रुचि राख्थ्यो ।

आर्थिक कोणबाट हेर्दा उपभोक्ता समाज तथा बजारवादको बिगबिगीले गर्दा कार्यव्यस्तता र प्रतिस्पर्धा बढाएको छ । अभिभावक आय केन्द्रित, शिक्षकहरू मुद्रा केन्द्रित र विद्यालयहरू मुनाफा केन्द्रित हुँदै गएकाले पनि यसलाई प्रभावित पारेको छ । पुस्तकइतर सूचनामूलक र ज्ञानमूलक माध्यमहरूको विस्तार भएर पनि पुस्तकसँगको प्रेममा कमी आएको छ ।

अर्को राजनीतिक कारणलाई यसरी बुझ्न सकिन्छ कि भ्रष्ट सामाजिक परिवेशको लाभ लिएर परीक्षामा कदाचार हुने, सहज उत्तीर्ण हुन सक्ने मात्र होइन, राम्रो ग्रेड प्राप्त हुने परिस्थितिले गर्दा सोझो तरीकाले सफलता पाइराख्दा परिश्रम गर्न को चाहन्छ र ? भनिन्छ, अध्ययन तपस्या हो । पढ्नका लागि कम्मर कस्नुपर्छ, ध्यान केन्द्रित गर्नुपर्छ, पुस्तकहरूसँग संवाद गर्नुपर्छ । वास्तवमा एउटा जिज्ञासु विद्यार्थीका लागि पुस्तक पढ्नु भनेको मनोरञ्जन गर्नु हो तर छोटो र सहज तरीकाले नै परिश्रमबाट प्राप्त हुने उपलब्धि हासिल हुन थाल्यो भने को पढ्न चाहन्छ र ?

यसका साथै मनोवैज्ञानिक कारण पनि कम छैन, जसले पढ्ने संस्कृतिलाई प्रभावहीन बनाइदिएको छ । यस अन्तर्गत कोचिङ र ट्युशनको प्रवृत्तिलाई लिन सकिन्छ । एउटै विद्यार्थी विद्यालयमा पनि सुन्छ र त्यही कुरा पुनः कोचिङ र ट्युशनमा सुन्छ वा सम्झन्छ । त्यस्तै, विभिन्न सन्दर्भ पुस्तकहरू प्रकाशित भएका हुनाले विद्यार्थीहरूलाई सजिलो बनाइदिएको छ । पहिले सूत्र याद गरेर मात्र हुँदैनथ्यो, त्यसका लागि प्रयोग पनि त्यति कै गर्नुपथ्र्यो । अहिलेका विद्यार्थीहरू मानौं बीजगणितका सूत्रहरू सम्झन्छन्, उनीहरूका लागि त्यतिकै काफी हुन्छ । उनीहरू समीकरण हल गर्ने चक्करमा पर्दैनन् । यसले पनि विद्यार्थीहरूलाई फुर्सतिलो बनाइदिएको छ । ऊ मनोवैज्ञानिकरूपमैं तनावमुक्त रहन्छ । यसमा केही शिक्षकहरूको पारम्परिक कथनले पनि तिनीहरूलाई हौंस्याउँछ कि विद्यार्थी कक्षाकोठामा नियमितरूपमा शिक्षकले पढाएका कुरा ध्यानपूर्वक सुन्छन् भने मात्र पनि मज्जाले उत्तीर्ण हुन सक्छन् र अहिलेको पाठ्यक्रम वा प्रश्न निर्माण गर्ने शैलीले पनि यस्तै कुरालाई बल पु¥याइरहेका हुनाले नियमित हाजिरी गर्ने विद्यार्थीहरू मज्जाले सफलता पाइरहेका छन् । यस्तोमा पढ्न को चाहन्छ र ?

अहिलेको पुस्ता सानो श्रममा बढी परिणाम हासिल गर्न चाहन्छ । उसलाई के लाग्छ भने कुन ज्ञान कहाँ छ ? त्यो कुरो पो थाहा हुनुप¥यो । एउटा विद्यार्थी एउटा लाइब्रेरियन जस्तो पो बन्नुपर्छ । सबै किताब कण्ठस्थ पार्नु जरुरी छैन । सामान्य समझदारी र ज्ञानको व्यवस्थापन गर्ने खूबी र आँट हुनुपर्छ । भन्नुको अर्थ अहिलेको पुस्ता ई–पुस्ता हो । उसको जोडघटाउ ऊसँग भएको क्यालकुलेटर भित्र छ । उसले प्रविधिमा पहुँच र पकड बनाउनुपुर्‍या, ज्ञान आपैंm बढ्न थाल्छ । यस प्रकारको सोचले पनि पढ्ने कार्यलाई हतोत्साहित गरेको हो जस्तो मलाई लाग्छ । मैले सरसर्ती हेर्दा अध्ययन कार्यमा ह्रास आउने कारणहरूलाई उपरोक्त तरीकाले वर्गीकृत गरें । यीबाहेक अरू पनि थुप्रै कारण हुन सक्छन् । वास्तवमा यस सम्बन्धमा बृहत् अनुसन्धानकै खाँचो छ तर त्योभन्दा पनि महत्वपूर्ण कुरो के हो भने पढ्ने प्रवृत्तिमा हुने ह्रासले कस्ता–कस्ता समस्या जन्मिइरहेका छन् ? यससँगै केही मौलिक प्रश्नहरू पनि बहसका लागि तेर्सिन पुग्छन् ।

ती प्रश्नहरू भनेको, के ज्ञानप्राप्तिका लागि घोकन्ते बन्नु जरुरी छ ? के सबै कुरा पुस्तक र प्रविधिमा छ भनेर आधारभूत मनन पनि नगर्ने ? अङ्ग्रेजीका शब्दावलीहरू शब्दकोष वा नेटबाट तान्न सकिएला तर व्याकरणीय पक्षहरूको जानकारी प्रविधिले पूर्णरूपेण दिंदैन होला नि । सामान्य प्रश्नहरूका आडमा मात्र के प्रस्ट्याउन खोजिएको हो भने नियमित पढ्नु जरुरी छ । पढ्नु आयुर्वेदिक औषधि जस्तो हो । अध्ययन गर्नु योग जस्तै हो, जसले तपाईंलाई लाभ नै पुर्‍याउँछ, हानि पु¥याउँदैन । तीक्ष्ण बुद्धि र प्रविधिमैत्री हुँदैमा आधारभूत अध्ययनबाट वञ्चित हुनुलाई गयल प्रवृत्ति भनिएला । त्यसलाई उच्च ग्रहणशीलता भनेर उपेक्षा गर्न मिल्दैन । त्यसैले जब कोही भन्छ, “मेरा पढने में नहीं लागे मन” त्यतिखेर हामीले घोत्लिनुपर्छ । चाहे अभिभावक हुन् वा शिक्षक वा विद्यालय सबैले हरिवंशराय बच्चनले लेखेका कविता विद्यार्थीहरूलाई सम्झाइराख्नुपर्छ र त्यो हो, “सफलता एक चुनौती है, इसे स्वीकार करो/क्या कमी रह गई, देखो और सुधार करो/जबतक ना सफल हो, नींद चैन को त्यागो तुम/पढाइका मैदान छोड मत भागो तुम/विनाकिए कुछ जयजयकार नहीं होती/कोशिश करने वालों की कभी हार नहीं होती ।” यसरी नपढ्ने संस्कृतिलाई न्यून गर्न सकिन्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्