ठेकेदारको लापरवाहीले दुर्घटना बढ्दो

प्रस, वीरगंज, १३ वैशाख/

बाराको प्रसौनीदेखि वीरगंज महानगरसम्म १३२ केभी भूमिगत प्रसारण लाइन जडानको ठेक्का सकार गरेको ठेकेदार कम्पनीको ढिलासुस्तीले सो क्षेत्रका मानिसहरूले दुःख पाउनुका साथै सवारी दुर्घटना पनि बढ्दो छ ।

यो सडकखण्ड भएर भूमिगत प्रसारण लाइनका लागि तार बिछ्याउने क्रममा ठेकेदार कम्पनीले पावरहाउस चोकदेखि लक्ष्मणवा चोकसम्म खनेको थियो । तर महीनौंदेखि खनेको सो सडकमा काम अघि नबढाउँदा अहिले सवारी दुर्घटनाको क्रम बढेको छ । दैनिक यो सडकखण्डमा मोटरसाइल, जीप, कार, ईरिक्शा, टेम्पोहरू दुर्घटना हुने गरेको स्थानीयहरू बताउ“छन् । खासगरी रातिको समयमा खाल्डोमा परी सवारीसाधनहरू दुर्घटना हुने गरेको उनीहरूले बताए ।

बाराको प्रसौनी प्रसारण केन्द्रबाट कतै नालाभित्रबाट, कतै सडक, फूटपाथ खनेर भूमिगतरूपमा विद्युतीय तार लैजानका लागि ठाउँ–ठाउँमा खाल्डो खनिएको छ । यो सडकखण्डमा खाल्डोका कारण दिनमा सवारी जाम हुने र राति दुर्घटना हुने क्रम रोकिएको छैन । सडक, फूटपाथ खन्ने क्रममा निस्किएको माटोको पनि व्यवस्थापन नगरिएकोले अहिले गर्मी र हावाहुरीको बेला धूलो उडेर जनजीवन प्रभावित भएको छ । ठेकेदारले एक महीनादेखि कुनै काम अघि नबढाएको स्थानीयहरू बताउँछन् । स्थानीय मनोज पटेलले ठेकेदारको लापरवाहीपूर्ण कार्यले आसपासका मानिसहरूले दुःख खेप्नुपरिरहेको बताए । प्रसारण लाइनका प्रोजेक्ट म्यानेजर लक्ष्मीनारायण मुखियाले कालिका र चाइनिज कम्पनीले ठेक्का पाएको बताए । उनले २.७ किलोमिटरमा भूमिगत तार बिछ्याउन गत मङ्सिरसम्मको समयसीमा थियो तर अहिले बढेर असार मसान्तसम्म पुगेको बताए । उनले अब चाँडो काम हुने र खाल्डो पुरिने बताए । तत्काल दुर्घटना हुन नदिनका लागि खाल्डो खनिएका स्थानहरूमा ट्राफिक सिग्नलहरू राखिने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्