नेपालमा कति छन् विद्यालय ?

काठमाडौं, १३ वैशाख/रासस

नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।

पूर्वप्राथमिक शिक्षामा कुल भर्नादर ८४ दशमलव सात पुगेको छ भने प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६ दशमलव नौ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगका अनुसार प्राथमिक तह कक्षा १ देखि ५, आधारभूत तह कक्षा ६ देखि ८, माध्यमिक तह कक्षा ९ देखि १२ को खुद भर्नादर क्रमशः ९६ दशमलव नौ प्रतिशत, ९२ दशमलव सात प्रतिशत र ४६ दशमलव चार प्रतिशत पुगेको छ ।

कक्षा ५ र ८ सम्मको टिकाउ दर क्रमशः ८९ दशमलव छ प्रतिशत र ७७ दशमलव नौ प्रतिशत रहेका जानकारी दिइएको छ । आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी भर्ना भई अध्ययन गरिरहेको पनि आयोगले जानकारी दिएको छ । प्रारम्भिक बालविकास शिक्षामा नौ लाख ७४ बालबालिका अध्ययनरत छन् । लै·िक समता सूचकाड्ढ आधारभूत तह र माध्यमिक तहमा क्रमशः ० दशमलव ९८ र एक दशमलव ०१ रहेको आयोगले जनाएको छ । विद्यालय दोेहो¥याउने कक्षा १ देखि ५ सम्म तीन दशमलव आठ र आधारभूत तहमा कक्षा ६ देखि ८ सम्म चार दशमलव चार तथा कक्षा ९ र १० को माध्यमिक तहमा तीन दशमलव सात प्रतिशतमा झरेको छ ।

आयोगका अनुसार अहिले मुलुकभर सार्वजनिक र निजी लगानीका गरी ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करीब २३ प्रतिशत विद्यार्थीलाई सेवाप्रवाह गरिरहेको छ ।

विसं २०६८ को जनगणनामा १५ वर्षमाथिको जनसङ्ख्याको साक्षरता ५८ प्रतिशत रहेकामा आव २०७४/७५ मा १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता ८८ दशमलव छ प्रतिशत पुगेको छ । हालसम्म ५१ जिल्ला साक्षर घोषणा भइसकेको आयोगद्वारा प्रकाशित प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तकमा उल्लेख छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्