सुक्खायाम शुरू भएसँगै चापाकलहरू सुक्न थाले पालिकाहरू खानेपानीको विकल्प तयार पार्न असफल

धर्मेन्द्र चौरसिया, पोखरिया, १० वैशाख/

गर्मीयाम शुरू भइसकेको छ र बिस्तारै पर्सा जिल्लाका ग्रामीण क्षेत्रका चापाकलहरू सुक्न थालेका छन् । समयमा वर्षा नहुनाले भूमिगत पानीको सतह कम हुँदै गएपछि चापाकलहरू सुक्न थालेका हुन् । गत वर्षदेखि ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह घट्न शुरू भएर चापाकलहरू सुक्न थालेका हुन् । चापाकल सुक्न थालेपछि स्थानीयहरू खानेपानी संस्थानको पानी वितरण हुने आशामा छन् । तर जिल्लाका प्रायःजसो सबै पालिकामा खानेपानी टड्ढी निर्माण भएपनि सञ्चालनमा भने आउन सकेका छैनन् ।

पोखरिया नगरपालिका–४ बजार क्षेत्रमा २१ वर्ष अघि जिल्लामा वीरगंज महानगरपालिकापछि दोस्रो पुरानो खानेपानी टड्ढी निर्माण भएको थियो । तर खानेपानी टड्ढी अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

गत वर्षदेखि सुक्खायाम शुरू भएपछि चैत–असारसम्म पानीको स्रोत सुकेर चापाकलमा पानी नआउने समस्या बढेको छ । चापाकलमा पानी नआउने समस्या शुरू भएपनि यसपालि पनि यो खानेपानी टड्ढी सञ्चालनमा आउने सम्भावना देखिन्न । नगरप्रमुख प्रद्युम्न चौहान पोखरियामा धेरै पहिले निर्मित खानेपानी टड्ढी हाल सञ्चालनमा आउन नसक्ने बताउँछन् । सो टड्ढी निर्माण भएको धेरै वर्ष भएकोले मर्मतसम्भार वा पुनर्निर्माण गरेर मात्र सञ्चालन हुन सक्ने नगरप्रमुख चौहान बताउँछन् । उनले खानेपानीमन्त्री प्रदीप यादवसँग पोखरिया खानेपानी टड्ढी सञ्चालनको लागि बजेट माग गरेको र सो बजेट आएपछि मर्मतसम्भार वा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने बताए । उनले तत्काल भने सञ्चालनमा आउनै नसक्ने बताए ।

२१ वर्ष अघि खानेपानी टड्ढी निर्माण भएर केही स्थानमा मात्र पाइपलाइन बिछ्याइएको थियो । त्यतिखेर भने उपभोक्ताहरूले संस्थानको धारा जडानमा चासो नदेखाएपछि थप पाइपलाइन विस्तार गरिएन ।

चार वर्ष अघि पोखरियामा थप पाइपलाइन विस्तार गरिएको थियो । तर धारा जडानका लागि रु छ हजार लाग्ने हुँदा मानिसहरूले फेरि पनि चासो देखाएनन् । तर अहिले सो अवस्था छैन र सुक्खायाममा चापाकलको स्रोत सुकेर पानी नआउने समस्या बढेपछि मानिसहरू खानेपानीको लागि वैकल्पिक स्रोत खोजिरहेका छन् । तर पानीको यस्तो विकट अभावको समयमा पनि पोखरिया खानेपानी संस्थानले योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाउन सकेको छैन ।

पोखरिया वीरगंजपछि सबैभन्दा पुरानो खानेपानी टड्ढी निर्माण भएको पालिका हो । जिल्लाका अन्य पालिकाहरूमा पनि निर्माण भएका खानेपानी टड्ढीहरू हालसम्म सञ्चालनमा आएका छैनन् ।

एक दशक बढी समयदेखि जिल्लाका प्रायः सबै पालिकामा खानेपानी टड्ढी निर्माण भइसकेका छन् तर सञ्चालन भने भएकै छैन । कतै पाइपलाइन जडान भएको छैन भने कतै संस्थानको धारा जडान गर्दा आर्थिकरूपमा महँगो भएर उपभोक्ताहरूले जडान नै नगरेको अवस्था छ ।

एकपछि अर्काे खानेपानी टड्ढी निर्माण हुने र सञ्चालनमा नआउने गरे पनि खानेपानी टड्ढी निर्माण कार्य भने रोकिएको छैन । यसै क्रममा अहिले पकाहामैनपुर गापामा खानेपानी टड्ढी निर्माणको क्रममा छ । गापाध्यक्ष सुरेश मेहताले पालिकाका चापाकलहरू सुक्ने समस्यासँगै पानीको आवश्यकतालाई महसूस गरी खानेपानी टड्ढी निर्माणको क्रममा रहेको र तत्कालका लागि डीप बोरिङ निर्माण गरी पानी उपलब्ध गराउने योजना रहेको बताए ।

पर्सामा अहिले पोखरिया, पर्सागढी, बहुदरमाई गरी तीन नगरपालिका र ठोरी, जगरनाथपुर, सखुवाप्रसौनी, कालिकामाई, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौलीलगायतका पालिकामा खानेपानी टड्ढी निर्माण गरिएका छन् । सखुवाप्रसौनी गापामा तीनवटा खानेपानी टड्ढी छ तर तीनवटै सञ्चालनमा छैनन् । गापाध्यक्ष यशवन्त यादवले खानेपानीमन्त्री यादवसँग पानीटड्ढी सञ्चालनका लागि कुरा भएको बताए । उनले मन्त्रालयले सञ्चालनका लागि बजेट पठाएको खण्डमा यसै आवबाट वितरण योजना अघि बढाउने नत्रभने आगामी आवमा गापाबाट बजेट विनियोजन गरेर भएपनि पानीटड्ढी सञ्चालनमा ल्याउने बताए ।

उनले गत वर्षदेखि यो पालिकामा पनि सुक्खायाममा पानीको समस्या बढेकोले यसपटक पालिकाले भूमिगत पानीको सतह कम नहोस् भनेर सिंचाइका लागि दिइने डीप बोरिङको सिफारिश रोक्का गरेको बताए । डीप बोरिङका कारण पनि भूमिगत पानीको सतह कम हुने गरेकोले सिफारिश रोकिएको उनले प्रस्ट्याए । पर्सागढी नपाका बडनिहार, मनवा, र·पुरमा गरी तीनवटा खानेपानी टड्ढी छन् तर एउटै पनि सञ्चालनमा छैनन् ।

ग्रामीण क्षेत्रहरूमा निर्माण भएका खानेपानी टड्ढीहरू सञ्चालनमा नआएर जीर्ण बन्दैछन् । एउटा खानेपानी टड्ढी र सोको लागि पूर्वाधार निर्माणमा अहिले बढीमा २२ करोड लाग्ने गरेको छ । तर खानेपानी उपभोक्ता तयार नगरी जथाभावी मागविना पनि खानेपानी टड्ढी निर्माणपछि सञ्चालनमा आउन नसकेको हो ।

वीरगंज महानगरमा गत वर्ष खानेपानीको चरम अभाव भएको थियो । महानगरले विभिन्न वडाहरूमा टड्ढीबाट पानी वितरण गरेको थियो भने वडास्तरमा धमाधम डीप बोरिङ जडान गर्ने नीति अवलम्बन गरेको थियो । पानीको हाहाकार नहोस् भनेर महानगरले खानेपानी संस्थानको धारा पनि निश्शुल्क जडान व्यवस्था गरेको थियो भने यो कार्यका लागि नयाँ कालोपत्र, ढलान सडकहरू पनि कटान गर्न स्वीकृति प्रदान गरेको थियो ।

नागरिकले पानीको अभाव झेल्न नपरोस् भनेर महानगरले यस्ता कामहरू गरेको थियो, जसले गर्दा अहिले महानगरमा पानीको अभाव केही हदसम्म टरेको छ । महानगर जस्तो पानीको समस्या ग्रामीण क्षेत्रमा छैन । तर गत वर्षदेखि स्रोत सुकेर चापाकलहरू सुक्न थालेपछि विकल्पको बाटो अख्तियार नगर्दा यसपटक सुक्खायाममा ग्रामीण क्षेत्रका मानिसहरूले खानेपानीको अभाव महसूस गर्ने जानकारहरू बताउँछन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्