स्ववियु टोलीद्वारा आश्रमको अवलोकन

प्रस, वीरगंज, १० वैशाख/

ठाकुर राम बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति राजकुमार यादवसहितको टोलीले बुधवार मानवसेवा आश्रमको अवलोकन गरेको छ । स्ववियुको तर्फबाट मानवसेवा आश्रमका लागि केही गर्ने अभिप्रायले सभापति यादवसहितको स्ववियु पदाधिकारीहरूले आज आश्रमको अवलोकन गरेको आश्रमका संस्थापक संयोजक देवेश मानवसेवाले बताए ।

उनले अवलोकनपछि सभापति यादवले क्याम्पसमा आश्रमको लागि सहयोग पेटिका राख्ने र अन्य तरीकाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताए । स्ववियु टोलीसँगै आश्रम पुगेका प्रदेशसभा सदस्य श्याम पटेलले आश्रमका लागि सक्दो सहयोग जुटाउने बताए ।

उनकै पहलमा यस अघि पूर्वमन्त्री रमेश रिजालले सडक मानिसहरूको उद्धारका लागि एक थान पिकअप भ्यान आश्रमलाई उपलब्ध गराएको संयोजक देवेश मानवसेवाले बताए । स्ववियु टोली र प्रदेशसभा सदस्य पटेलले आश्रमको भौतिक संरचना, आश्रितहरूको अवस्था, उनीहरूको खानपान, बसोबास, स्वास्थ्य अवस्था आदिका बारेमा जानकारी लिएका थिए ।

सो अवसरमा आश्रमका संरक्षक प्रकाश थारू, स्ववियुका पूर्वसभापति वैकुण्ठ श्रीवास्तव, नेविसङ्घका केन्द्रीय सदस्य मुनराज तिवारी, स्ववियु उपसभापति राहुल दास, सचिव मन्दिरा चौधरी, सहसचिव पुष्पराज यादव, कोषाध्यक्ष अड्ढित पटेल, सदस्यहरू अमित पटेल, दीपिका भण्डारी, श्याम महतो, आयुष श्रीवास्तवलगायतकोे सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्