कलैयाको हिलाम्य सडकमा दैनिक दुर्घटना बढ्दै

प्रस, वीरगंज, ३१ चैत/
लामो समयसम्म विवादका कारण रोकिएको बारा जिल्लाको कलैया उपमहानगरस्थित मटिअर्वा–मानवत सडकखण्डको काम एक साता अघिदेखि शुरू हुने भनिएपछि अहिलेसम्म शुरू नहुँदा अहिले वर्षाले सो सडकखण्ड हिलाम्य भएर आवागमनमा समस्या भएको छ भने सवारीसाधनहरू दुर्घटना हुने क्रम बढेको छ ।

कलैया उपमहानगरको भरतचोकदेखि उत्तर संस्कार एफएमसम्म एक किलोमिटर र दक्षिण शीतलपुरसम्म दुई किलोमिटर सडकखण्ड कालोपत्र हुन सकेको छैन । भरतचोकदेखि उत्तर संस्कार एफएमसम्म एक किलोमिटरमा राखिएको ग्राभेल कलैया उपमहानगरले आफूले राखेको दाबी गर्दै केही महीना अघि सो सडकखण्डबाट ग्राभेल खनेर अन्यत्रको सडक निर्माणमा प्रयोग गरेको थियो ।

यस अघि गत साउनमा उपमहानगरले यो सडकखण्डमा पर्ने अतिक्रमण हटाएर सडक निर्माणका लागि बाटो खुला गरिदिएको थियो । तर विद्युत् पोल र खानेपानीको पाइपलाइन नहटेको कारण ठेकेदारले काम अघि बढाउन सकेको थिएन ।

स्थानीय प्रशासनको पहलमा विद्युत् र खानेपानीले आआफ्नो काम पूरा गरी सो क्षेत्रका पोल र पाइपलाइन हटाइसकेको छ । ठेकेदार कम्पनीले काम शुरू गर्ने भनेकोमा अहिलेसम्म शुरू गरिसकेको छैन र यसबीचमा वर्षा हुन थालेपछि सो सडकखण्ड पोखरीमा परिणत भएको छ ।

गत चैत २१ गते संसदीय टोलीले सो सडकखण्डको अनुगमन गर्दा ठेकेदारले हाल बाँकी ११ सय मिटर कालोपत्रको काम आफूले चा“डो सम्पन्न गर्ने जानकारी गराएको थियो । ११ सय मिटर अर्थात् एक किलो मिटरभन्दा १०० मिटर बढी । यो क्षेत्र भनेको भरतचोकदेखि उत्तर संस्कार एफएमसम्म हो । त्यसपछि भरतचोकदेखि दक्षिण शीतलपुरसम्म करीब दुई किलोमिटर सडकखण्ड बन्ने ठेगान छैन ।

मटिअर्वा–मानवत सडकखण्ड निर्माण भएको लामो समय बितिसकेको छ । तर कलैया उपमहानगरको शीतलपुरदेखि देवकोटाचोकसम्मको तीन किलोमिटर सडक भने बन्न नसकेको हो ।

भरतचोकदेखि उत्तर संस्कार एफएमसम्मको क्षेत्रमा बिछ्याइएको ग्राभेल उपमहानगरले खनेर टिपरद्वारा अर्काे सडक योजनामा प्रयोग गरेकोले सो सडकखण्ड वर्षामा पोखरीमा परिणत भएको हो । ठेकेदारले ग्राभेल बिछ्याउने कार्य शुरू गरेको छैन, भएको ग्राभेल खनिएको कारण वर्षामा एक किलोमिटर सडक हिलाम्य बनेको र अहिल दैनिक दुर्घटना बढ्दैछ ।

आइतवार मात्र एक दर्जनको हाराहारीमा सवारीसाधनहरू दुर्घटनाग्रस्त भए । वर्षामा यो सडकखण्ड भएर सर्वसाधारणलाई हिंड्डुलमा निकै समस्या भएको छ ।

टिपरलगायत सवारीसाधनहरूको आवागमन हुने हुँदा सुक्खायाममा धूलो र वर्षामा हिलाम्य भएर सर्वसाधारणलाई हिंड्डुलमा समस्या हुनुका साथै वरिपरिका बसोबासीहरूले पनि समस्या भोग्दै आएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्