प्रस, वीरगंज, १३ चैत/
बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष विश्वेन्द्र पासवानले केही भ्रष्ट र नालायक नेताहरूका कारण गणतन्त्र खतरामा नपर्ने बताएका छन् ।
रिपोट्र्स क्लब पर्साले बुधवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले भ्रष्ट तथा कपाल फुलेका नेताहरूको अन्त्य हुने तर राजतन्त्र भने नफर्केन दाबी गरे । उनले भने– नेपालमा अब राजशाही शासनको कल्पना गर्न सकिन्न । यसका लागि संविधानतः राजाले दल दर्ता गराउनुपर्ने, मतदानबाट दुई तिहाइ मत ल्याउनुपर्ने र संविधान संशोधन गरेर मात्र राजतन्त्र फर्काउन सक्ने बताए ।
उनले राजा पछिल्लो समयमा सक्रिय हुन लागेकामा चेतावनी दिंदै धेरै तिरमिराएको खण्डमा खोरमा जान सक्ने बताए । उनले गणतन्त्रको विकल्प सुन्दर गणतन्त्र हुन सक्ने तर राजतन्त्र नहुने बताउँदै संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक भएको तर्क गरे । उनले अहिलेको सरकार असफल भएको दाबी गरे ।
उनले भने– वर्तमान सरकार असफल भइसकेको छ, सबै दल मिलेर अर्काे नयाँ सरकार बनाउनुपर्छ । उनले आफ्नो पार्टीले सुन्दर नेपालको खाका तयार पारेकोले सबैजनालाई सुन्दर नेपाल अभियानमा सहभागी हुन आग्रह पनि गरे । उनले दलित र पिछडिएका वर्गहरूले अहिलेसम्म अधिकार पाउन नसकेको आरोप लगाए ।
संविधानमा अधिकार छ तर कार्यान्वयन गरिंदैन, दलितहरूको हत्या, छुवाछूत समाजमा जारी छ । भेदभावविरुद्धका घटनामा सरकारले तदारूकता देखाउँदैन । नागरिक आवाज बढेपछि यस्ता घटनाविरुद्ध कारबाही गर्नु साटो घटनालगत्तै कानूनी कारबाई गर्दा सबैले सुशासनको अनुभूति गर्न पाउने उनको तर्क थियो ।
उनले कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गलती गरेको भन्दै निर्णय सच्याउन सरकारसँग आग्रह गरे । कार्यक्रम रिपोट्र्स क्लब मधेस प्रदेशका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा भएको थियो ।