प्रस, वीरगंज, १३ चैत/
विगत १५ वर्षदेखि घरपरिवारसँग अलग भएकी ८० वर्षीया आलिया बिबी रमजानको बेलामा परिवारसँग बस्ने अवसर पाएकी छन् ।
भारत पश्चिम बङ्गालबाट बुधवार उनका पाँचजना आफन्त आएर ८० वर्षीया बिबीलाई लिएर गएको मानवसेवा आश्रम वीरगंजका संयोजक देवेश गुप्ताले बताए ।
उनले बिबीलाई २०७४ मङ्सिर १ गते वीरगंज महानगर–४ बिर्ता मन्दिरनजीकबाट उद्धार गरेर आश्रममा ल्याएको बताए । उनले उद्धार गर्दा बिबीको अवस्था कष्टमय थियो, उनको हात र दाहिने खुट्टामा घाउ रहेको र त्यसमा कीरा पनि परेको देवेशले
बताए । उनले औषधोपचारपछि बिबी आश्रममा सात वर्ष बसेकी र अहिले परिवारको जिम्मा लगाएर पठाएको बताए ।
संयोजक गुप्ताले सात दिन अघि आफूले बिबीसँग कुरा गर्दा बिबीले आफ्नो थानाबारेमा जानकारी गराएको र गूगलबाट सम्पर्क गरेर त्यहाँको प्रहरीलाई उनको बारेमा जानकारी दिंदै फोटो पठाएको र त्यहाँको प्रहरीले परिवारको फोन नम्बर दिएपछि परिवारहरू खुशी भएर आएको संयोजक गुप्ताले बताए ।
बिबीका भाइ सर्फुद्दीन मलिक, भतिजाहरू मुस्ताक, विप्लव, भान्जा शहजान अलि खान र भाइ बुहारी गुड्डी बिबीले आज उनलाई आश्रमबाट बुझेर लगेका हुन् । उनीहरूले बिबीलाई १५ वर्षदेखि भारतका विभिन्न राज्यमा खोजेको र पछि नेपालको मानवसेवा आश्रममा रहेको सूचना पाएपछि लिन आएको बताए ।