प्रस, वीरगंज, १२ चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साले सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अभियोगपत्र दर्तामा ढिला गर्दै आएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका चार हजार ८०० मानिसले आफ्नो बचत रकम फिर्ता नभएको भनी दिएको उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले लामिछानेसहित करीब ३५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको महीनौं बितिसक्दा पनि सोविरुद्ध अभियोगपत्र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको छैन ।
लामिछानेविरुद्धको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालयमा आएर सानो पाइलासम्बन्धी उजूरीलगायतका विषयमा अध्ययन गरेर फर्केको छ । ब्युरो टोलीले डेढ महीना लामो बसाइ क्रममा सानोपाइलासँग सम्बन्धित सबै पक्षसँग सोधपूछ, प्रमाण सङ्कलनको काम गरेको तर लामिछानेको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला नपरेको प्रहरी स्रोतले जानकारी गराएको छ ।
अहिलेसम्म सानो पाइला बचत तथा ऋण सहकारीविरुद्ध वीरगंज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र र थप अभियोगपत्र दर्ता गराइसकेका छन् । पछिल्लो मुद्दामा सानो पाइला सहकारीबाट ठगिएका १७९ जनाको जाहेरीमा सानो पाइलाका १३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो र त्यसमध्ये दुईजना पक्राउ परेर धरौटीमा रिहा भइसकेका छन् ।
अहिलेसम्म परेका दुईवटा मुद्दामा लामिछानेको नाम जोडिएको थिएन । पूर्वडिआइजी छविलाल जोशीको घरमा छापामारी गर्दा त्यहाँ लामिछानेविरुद्ध सानो पाइला सहकारी संस्थाबाट पनि रकम अपचलन भएको सबूत प्रमाण रहेको दाबी प्रहरीले गरेको छ । सोही आधारमा तेस्रो तथा थप अभियोगपत्रमा लामिछानेको नामसमेत जोडी अभियोगपत्र दर्ता गर्ने पर्सा प्रहरीले तयारी शुरू गरे पनि यसबारेमा अहिलेसम्म जिप्रका पर्साले अभियोजनपत्र भने दर्ता गराउन सकेको छैन ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले चितवनमा परेको उजूरी सम्बन्धमा छिनोफानो भएपछि पर्सा जिल्लामा लामिछानेविरुद्धको अभियोगपत्र दर्ता तयारीमा थप अनुसन्धान भइरहेको बताए ।
लामिछाने कास्की, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । उनीविरुद्ध पर्सा प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी बयान लिनेसम्मको काम गरिसकेको छ । तर सोविरुद्ध अभियोगपत्र भने दर्ता गराउन सकेको छैन ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजको बचत अपचलनमा वीरगंज महानगरपालिका कार्यालयमा परेका उजूरी र प्रहरीमा परेका उजूरीमा समेत लामिछानेको नाम थिएन ।
तर कास्की, रूपन्देही, काठमाडौं र चितवनमा प्रहरीले अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गराएपछि राजनीतिक दबाबमा मात्र पर्सा प्रहरीले उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गराएर बयान लिएको थियो ।
प्रहरी नायब महानिरीक्षक जोशीको घरबाट लामिछानेविरुद्धका प्रमाणहरू रहेको दाबी गर्दै पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरीले अहिलेसम्म मुद्दा दर्ताको प्रक्रियामा रहेको र अनुसन्धान भइरहेको भनेर टार्दै आएको छ ।