प्रस, वीरगंज, १२ चैत/
बाराको प्रसौनी गाउँपालिका जोड्ने विश्रामपुर गाउँपालिका–५ को ग्राभेल सडक अहिलेसम्म पक्की ढलान नभएर स्थानीयवासीले समस्या भोग्दै आएको जनता जागरण अभियान तथा बाटो सङ्घर्ष समितिले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
जनता जागरण अभियान तथा बाटो सङ्घर्ष समितिका अध्यक्ष नवलकिशोर ठाकुरले दुई पालिका जोड्नुका साथै पर्सा, बारा र रौतहट गरी तीन जिल्लासम्म यो बाटोको सम्पर्क रहेको तर अहिलेसम्म ग्राभेल बाटो पक्की ढलान नभएर स्थानीयवासीले समस्या भोग्नुपरेको बताए ।
उनले प्रदेशसभा सदस्य जीतेन्द्र सोनलले बाटो निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरेर माटो, ग्राभेलसम्मको काम गरेको तर
त्यसपछि काम अगाडि बढ्न नसकेको आरोप लगाए ।
बाटो नबन्दा गर्मीयाममा स्थानीय विद्यालयका विद्यार्थीहरूलाई आवतजावतमा समस्या हुने गरेको, सडकको धूलोले आसपासका मानिसहरूलाई समस्या भएको र यो बाटोबाट सवारीसाधनहरू सञ्चालनमा पनि समस्या हुने गरेको बताए ।
उनले सङ्घीय सांसद किसान श्रेष्ठ र प्रदेशसभा सदस्य सोनलले बाटोको विकासमा अविलम्ब चासो देखाउनुपर्ने माग राखे । समितिका सहसचिव रूपेश कुशवाहा र स्थानीय समाजसेवी रमेश साहले विनियोजित बजेटबाट पूरै काम नगरिएको परिणाम स्थानीयले भोग्नुपरेको बताए । तीन जिल्ला जोड्ने यो बाटोमा सवारीसाधनहरूको नियमित आवागमन हुने तर बाटोको कारण स्थानीयहरूले धूलो खान बाध्य भएको गुनासो गरे ।
यसबारेमा प्रदेशसभा सदस्य सोनलका स्वकीय सचिव रमेश सर्राफले बजेट विनियोजन गरेर बाटो फराकिलो गरिएको, माटो र ग्राभेल बिछ्याइएको तथा आगामी बजेटबाट पक्की ढलान बनाउने बताए ।