प्रस, वीरगंज, १२ चैत/
वीरगंज महानगरपालिका कार्यालयले आगामी विसं २०८२ को अवसरमा रात्रिबजार सञ्चालनमा ल्याउने भएको छ ।
नगरप्रमुखका जनसम्पर्क सचिवालय सल्लाहकार नवराज फुयाँलले महानगरले यही चैत २९–३१ सम्म तीन दिन विसं २०८२ लाई लक्षित गरेर रात्रिबजार सञ्चालनमा ल्याउन लागेको बताए ।
वीरगंजको अर्थ चलायमान बनाउने उद्देश्यले महानगरले अघिल्ला वर्षमा पनि नयाँ वर्षलाई लक्षित गरेर रात्रिकालीन बजार सञ्चालन गरेको थियो । त्यसपछि हौंसिएर प्रत्येक महीनाको अन्तमा रात्रिकालीन बजार सञ्चालन शुरू गरेको महानगरले विभिन्न पार्टीहरूले अश्लीलता प्रदर्शन हुनेगरी रात्रिबजारमा सांस्कृतिक कार्यक्रम गरेको भनेर आलोचना, विरोध गरेपछि तीन महीनापछि रात्रिबजार सञ्चालन बन्द गरेको थियो । अहिले लामो समयपछि आगामी नयाँ वर्षलाई लक्षित गरेर रात्रिकालीन बजार सञ्चालन गर्न गइरहेको हो ।
सल्लाहकार फुयाँलले रात्रिबजारमा खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायतका सामानका स्टल राखिने बताए । उनले ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, एनवाइइएफ, वीरगंज साइकलिङ क्लब, वुमन्स क्रिएशन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रिबजार लगाउन लागेको जानकारी गराए । रात्रिबजारको लागि तयारी शुरू भएको उनले बताएका छन् ।