चैती छठमा श्रीसिया झनै प्रदूषित हुने

प्रस, वीरगंज, ११ चैत/
यसपटकको चैती छठमा श्रीसिया नदी थप प्रदूषण हुने देखिएको छ । वीरगंज महानगरपालिका अन्तर्गतका उद्योगहरूले प्रदूषित पानी श्रीसिया नदीमा नबगाए पनि बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा रहेका केही उद्योगहरूको अटेरीपनले श्रीसिया चैती छठमा झनै प्रदूषित हुने देखिएको छ ।

वीरगंज महानगरपालिका कार्यालयले चैती छठलाई लक्षित गरेर तीनवटै पालिका अन्तर्गत रहेका श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूको अनुगमन गर्दै आएको छ तर बाराका दुई पालिका अन्तर्गतका उद्योगहरूले महानगरको अनुगमनलाई मान्यता दिएको छैन र उद्योगमा प्रवेश रोक्नुका साथै प्रदूषित पानीलाई निर्धक्क श्रीसियामा विसर्जन गर्दै आएका छन् ।

वीरगंज महानगरपालिका कार्यालयका वातावरण अधिकृत प्रकाश ऐरले पछिल्लो समयमा चैती छठलाई लक्षित गरी तीनवटै पालिकाका प्रदूषण फैलाउने उद्योगहरूको अनुगमन गर्दै आएको तर बारा जिल्ला अन्तर्गतका जीतपुरसिमरा उपमहानगर र परवानीपुर गापा अन्तर्गतका उद्योगहरूले असहयोग गरेको बताए । उनले अहिले जीतपुरसिमराको कृष्ण डाल्डा उद्योग, शिवशक्ति र नन्दन घ्यू उद्योग, कोहिनूर टेक्सटाइल्स, परवानीपुर गापाको अमृत तेल रिफाइनरी, महालक्ष्मी तेल रिफाइनरी र नारायणी तेल मिलले प्रदूषित पानीलाई नालाको माध्यमबाट खेत हुँदै श्रीसियामा विसर्जन गर्दै आएको बताए । ती उद्योगहरूले अनुगमन टोलीलाई असहयोग गरेका र उद्योगमा अनुगमन पनि गर्न नदिएको उनले बताए । यस अघि पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीबाट जारी अनुगमन इजाजतलाई पनि उनीहरूले बेवास्ता गरेको बताए । अधिकृत ऐरले अहिले श्रीसियाको मूल रामवनबाट नदीमा पानी आउने मुहान सुकेको र श्रीसियामा उद्योगहरूको प्रदूषित पानी मात्र बगिरहेको बताए । उद्योगको पानी श्रीसियामा विसर्जन नहुने हो भने श्रीसिया पानीविहीन हुने उनले बताए । उनले अहिले श्रीसिया नदी प्रदूषणमा बारा जिल्लाका उद्योगहरूको ८५ प्रतिशत दोष रहेको आरोप लगाए ।

उनले बारा जिल्लाका उद्योगहरू महानगरपालिकाको अधिकार क्षेत्र बाहिर भएकाले केही गर्न नसकिएको तर महानगर अन्तर्गतका उद्योगहरूमा भने सुधार भएको दाबी गरे । उनले महानगरपालिकामा रहेका उद्योगहरूमध्ये अरनिको र सिद्धि टेक्सटाइल्सले पोखरी बनाएर प्राकृतिकरूपमा पानी प्रशोधन गरी श्रीसियामा विसर्जन गर्दै आएको बताए । यसैगरी, सुशील वनस्पति र निम्बसले प्रदूषित पानी श्रीसियामा विसर्जन गरेको सूचनाका आधारमा अनुगमन गर्दा दुवै उद्योगमा प्राविधिक समस्या रहेको र अहिले सुधार भइसकेको बताए ।
नगरप्रमुख राजेशमान सिंहले तीन वर्ष अघि श्रीसिया नदी प्रदूषणमुक्त पारेर पुरानो लयमा फर्काउने भनी नदी प्रदूषणविरुद्ध अभियान सञ्चालन गरेका थिए । यस क्रममा निरन्तरको अनुगमन, जरिबानाबाट श्रीसिया नदीमा सुधार पनि भएको थियो । करीब ६० प्रतिशत सुधार भएको दाबी गर्ने महानगरले अहिले चैती छठमा श्रीसिया नदी प्रदूषणमुक्त नभएर झनै प्रदूषित हुने अनुमान गरेको छ र यसका लागि बाराका उद्योगहरू दोषी भएको जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्