सुक्खा बन्दरगाह भन्सारको राजस्व बढ्ने सङ्केत

नितेश कर्ण, वीरगंज, ११ चैत/
वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलन गत आवको तुलनामा बढेको छ ।

गत आव २०८०/८१ को साउन–फागुनसम्म वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्य रु एक खर्ब ६१ अर्ब २० करोड ५५ लाख ८५ हजार थियो । सो अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार सङ्कलन भएको थियो । तर चालू आवको सोही अवधिमा रु एक खर्ब ४० अर्ब ३५ करोड ४२ लाख ३१ हजार वार्षिक राजस्व सङ्कलन लक्ष्य राखिएकामा रु एक खर्ब नौ अर्ब १६ करोड ७२ लाख १० हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी युवराज भट्टराईले बताए ।

गत आवको साउन–फागुनमा मासिक प्रगति साउनमा लक्ष्यको ९६.०१ प्रतिशत, भदौमा लक्ष्यको ८५.१५, असोजमा ७४.५२ प्रतिशत, कात्तिकमा ६७.४६ प्रतिशत, मङ्सिरमा ७५.८२ प्रतिशत, पुसमा ६६.८२ प्रतिशत, माघमा ६९.८८ प्रतिशत र फागुन ६२.४५ प्रतिशत मात्र भएकामा चालू आवका सो अवधिमा साउनमा लक्ष्यको ७९.२८ प्रतिशत, भदौमा ८८.५३ प्रतिशत, असोजमा ९०.३२ प्रतिशत, कात्तिकमा ७९.३५ प्रतिशत, मङ्सिरमा ६८.१९ प्रतिशत, पुसमा ७५.०३ प्रतिशत, माघमा ९२.९६ प्रतिशत र फागुनमा ९२.२९ प्रतिशत रहेको सूचना अधिकारी भट्टराईले जानकारी गराएका छन् ।

उनले गत आवमा लक्ष्य रु एक खर्ब ६१ अर्ब २० करोड ५५ लाख ८५ हजार रहेकामा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार सङ्कलन भएपछि चालू आवमा लक्ष्य घटाएर रु एक खर्ब ४० अर्ब ३५ करोड ४२ लाख ३१ हजार बनाइएको र अहिलेसम्मको राजस्व सङ्कलन दर हेर्दा चालू आवमा लक्ष्य पूरा हुने सङ्केत देखिएको बताए ।

उनले चालू आवका आठ महीनामा उठेको राजस्वले चालू आवमा लक्ष्यभन्दा बढी राजस्व उठने सङ्केत मिलेको र सम्भवतः गत आवको लक्ष्यलाई पनि भेट्न सकिने अनुमान गरे । आठ महीना अवधिमा रु एक खर्ब ४० अर्ब ३५ करोड ४२ लाख ३१ हजार सङ्कलन भएकोले बाँकी चार महीना अवधिमा चालू आवको लक्ष्य पूरा हुने साथै गत वर्षको लक्ष्यलाई पनि भेट्ने सङ्केत देखिएको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्