नितेश कर्ण, वीरगज, ९ चैत/
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजा कुनै अवस्थामा नफर्किने दाबी गरेका छन् । नेकपा एमाले वीरगंज महानगर कमिटीले शनिवार वीरगंजमा आयोजना गरेको तीन महीने वडा केन्द्रित अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा महासचिव पोखरेलले पूर्व राजतन्त्रीय शासन व्यवस्थाभन्दा अहिले देशले धेरै विकास गरिसकेको दाबी गरे ।
उनले उहिलेको राजतन्त्रीय शासन व्यवस्था र अहिलेको सङ्घीय गणतान्त्रिक नेपालका गाउँ, शहरको अवस्था आफैं आकलन गर्दा पनि विकासको अवस्था पहिचान हुने बताए । उनले राजतन्त्रमा कलकारखाना तथा रोजगारको खासै अवस्था ठीक नभएको र अहिले युवाहरू
जताजतै रोजगार अवस्थामा रहेको बताए ।
उनले अहिले दिन प्रतिदिन रोजगारको अवसर सृजना भइरहेको दाबी गरे । उनले भने– “केही व्यक्तिले होहल्ला गर्दैमा नेपालमा राजतन्त्र
फिर्ता हुँदैन ढुक्क हुनुहोस् ।” उनले लोकतन्त्रमा सबैले बोल्ने अधिकार पाएका छन्, आफूबाहेक अरूलाई बोल्ने अधिकार नदिएका राजतन्त्रवादीहरूले पनि यही व्यवस्थाका कारण अहिले आफ्नो कुरा राख्न पाएका छन् । लोकतान्त्रिक पद्धतिमा भएका कमीकमजोरीलाई सच्याउँदै जान सकिने र बिस्तारै व्यवस्थामा सुधार ल्याउन सकिने बताए ।
उनले केही व्यक्तिहरूले देशमा अस्थिरता ल्याउने प्रयास गरिरहेका र त्यसैको उपजस्वरूप राजावादीहरू कुर्लेको आरोप लगाए ।
एमालेका केन्द्रीय सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले देश विकासका लागि पूर्वाधार विकास जरुरी रहेको बताए । उनले वीरगंजको मुख्य सडकबारे सर्वाेच्चको पूर्णपाठ आउन बाँकी रहेको अवस्थामा अहिले विभिन्न खाले हल्लाहरू गर्न नहुने बताए ।
मुख्य सडकसँग जोडिएका मानिसहरू पनि हाम्रो समाजका भएकाले अहिलेको अवस्थामा सडक विभागले दाबी गरे सरह सडकको दायाँबायाँ २५/२५ मिटर खाली गराउँदा सयौं मानिसको उठीवास हुने बताए । उनले सडकको दायाँबायाँ १५/१५ मिटर मात्र छाडेर सडक फराकिलो गर्दा न्यूनतम क्षति हुने र मानिसहरू बिल्लबाठ नहुने बताए । उनले अदालतको पूर्णपाठ आएपछि यसबारेमा विचारविमर्श गर्ने र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद प्रभु हजरा, निर्मला देवकोटा, जिल्ला अध्यक्ष डा विश्वम्भर शर्मा, प्रदेशमन्त्री सरोज यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । महानगर अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सुन्दर कुर्मीले गरेका थिए ।