प्रस, वीरगंज, ८ चैत/
पर्सागढी नगरपालिका–३ स्थित जनता मावि पकडिया बडनिहारमा तीनजना शिक्षक नियुक्ति गर्दा अनियमितता भएको भन्दै विद्यालयको हाजिरी रजिस्टर वडाध्यक्ष सुकमान तामाङले शुक्रवार नियन्त्रणमा लिएका छन् । स्थानीय प्रहरी, पत्रकारको रोहबरमा वडाध्यक्ष तामाङले विद्यालयको हाजिरी रजिस्टर नियन्त्रणमा लिएका हुन् । उनले विद्यालयले सर्वप्रथम २०७९ सालमा नेपाली र सामाजिक विषयका दुईजना शिक्षक नियुक्त गर्न आफूसँग सहमति लिएको, त्यसमा आफूले हस्ताक्षर गरेको, त्यसपछि परीक्षा लिएर पवन कुमार नियुक्त भएपनि काम गर्न नदिएको बताए ।
यसैगरी, २०८१ पुसमा पुनः नेपाली र सामाजिक विषयका लागि शिक्षक नियुक्त गर्न आफूसँग सिफारिश गराएकामा सोसम्बन्धी सूचना जारी नगरेको र त्यस लगत्तै प्रधानाध्यापक मोहनलाल चौधरीले गत माघ २७ गते लेखा र नेपाली विषयका लागि शिक्षक नियुक्त गर्न सिफारिश गराएको तर सूचना प्रकाशित नगरेको आरोप लगाए । उनले अहिले पछिल्लोपटक फागुन २० गते शिक्षक नियुक्तिको लागि सूचना प्रकाशन गर्ने निर्णय भएको तर सो सूचना पनि प्रकाशन नगरिएको तर प्रअ चौधरीले चैत ६ गतेको विव्यसको निर्णय भनेर नेपाली, सामाजिक र गणित गरी तीन विषयका लागि शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरे लगत्तै हिजो वीरगंज महानगर–१० स्थित पन्नालाल माविमा परीक्षा लिएर सोही दिन नतीजा प्रकाशन गरी शिक्षक नियुक्त गरेको आरोप लगाए । उनले सोसम्बन्धी जानकारी वडा र पालिकामा नगराएको, सूचना टाँस नगरेकाले आफूले हाजिरी रजिस्टर नियन्त्रणमा लिएको बताए । प्रअ चौधरीले सोसम्बन्धी सूचना पन्नालाल माविमा टाँस गरिएको बताएका छन् । यस अघि प्रअ चौधरीले चैत ५ गते सूचना प्रकाशन गरेर शिक्षक नियुक्तिका लागि लिने भनिएको परीक्षा स्थगित गरेका थिए र लगत्तै भोलिपल्ट अर्काे सूचना जारी गरी परीक्षा लिएर शिक्षक नियुक्त गरेका थिए । हिजो लिएको परीक्षामा माधव घिमिरेलाई नेपाली विषयको शिक्षक नियुक्त गरिएको छ भने सामाजिक विषयको लागि प्रविन्ता पञ्जियार र गणित विषयको शिक्षकमा दीपक कुमारलाई नियुक्त गरिएको थियो ।
वडाध्यक्ष तामाङले हाजिरी रजिस्टर नियन्त्रणमा लिएको बारे प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशीलाई जानकारी गराउँदा उनले यस विषयमा आफूलाई कुनै सूचना नगरिएको बताए । उनले यसबारेमा हिजो शिक्षा शाखा प्रमुख देवकुमार गिरीसँग बुझ्ने प्रयास गरेको तर उनीसँग अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । उनले नियुक्ति नियमसङ्गत नभएको ठहर गर्दै सम्बन्धित व्यक्तिलाई कारबाही हुने आश्वासन दिए ।