वीरगंजका दुवै क्याम्पसमा मतगणना शुरू भएन

प्रस, वीरगंज, ८ चैत/
वीरगंजका ठाकुरराम बहुमुखी क्याम्पस र वीरगंज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सम्पन्न निर्वाचनको मतगणना पुनः सुचारु हुन सकेको छैन ।

चैत ५ गते मङ्गलवार सम्पन्न स्ववियु निर्वाचनको मतदानपछि वीरगंज नर्सिङ क्याम्पसमा राति ८ बजेदेखि शुरू भएको मतगणनामा कुल मतदान भएको २७२ मतमध्ये २५१ मत गणना भएपछि बुधवार बिहान साढे तीन बजेदेखि मतगणना रोकिएको थियो । त्यसपछि भएका अहिलेसम्मको सहमतिले मूर्तरूप लिन नसकेकोले मतगणना हुन नसकेको निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले बताइन् । उनले निरन्तर सहमतिका प्रयासहरू भएको तर सफलता नमिलेर मतगणना अघि नबढेको बताइन् । यो क्याम्पसमा २७३ मतदातामध्ये २७२ जनाले मतदान गरेका थिए ।

ठाराब क्याम्पसमा बुधवार दिउँसो ४ बजेदेखि मतगणना शुरू भएकोमा हिजो बिहीवार दिउँसो तीन बजेदेखि स्थगन भएको थियो । मतपेटिकामा लगाइएको सिलमध्ये एउटा मेल नखाएको भनी विद्यार्थीहरूले हल्लीखल्ली गरेपछि मतगणना स्थगित भएको हो । घटना सम्बन्धमा १० विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् भने, अन्यले मतगणनाको माग गरेका छन् । चुनावमा अग्रस्थानमा रहेका समूहले आज मोटरसाइकल ¥याली निकालेर मतगणनाको माग दोहो-याए ।

ठाराब क्याम्पसमा १० हजार ७२९ मतदातामध्ये चार हजार ३०७ मत खसेकामा अहिलेसम्म आधा मत मात्र गणना भएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्