रामेश्वर मेहता, सिम्रौनगढ, ७ चैत/
राजावादी शक्तिहरूको चलखेल शुरू भएपछि तराई–मधेसमा जनतासँग माओवादी कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रले हिजो बुधवार बाराको सिमराबाट पुनः अभियानलाई सुचारु गरेको छ ।
हिजो सिमरामा विभिन्न कार्यक्रम गरेको माओवादी केन्द्रले बिहीवार बाराको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र सिम्रौनगढमा जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेको छ ।
सिम्रौनगढ नपा–२ अमृतगंजस्थित रानीवास बजारमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका कुरा जनताबाटै सुन्न र त्यहाँको विकासबारे स्थलगत अध्ययनका साथै भए गरेका समस्याहरूको पहिचान गर्न तराई–मधेसमा जनतासँग माओवादी कार्यक्रम लिएर आएको बताए ।
उनले सिम्रौनगढ पौराणिक इतिहास बोकेको ठाउँ भएको र यहाँ धार्मिक पर्यटकहरू भिœयाउन सकिने सम्भावना प्रचुर रहेको जिकिर गरे । उनले सिम्रौनगढको विकास, यहाँका धार्मिकस्थलहरूको अवस्थाका साथै यो क्षेत्रका शिक्षा, स्वास्थ्य, रोजगारलगायतका समस्या पहिचान गरी आफ्नो पार्टीको तर्फबाट हुन सक्ने पहल गरेर सुधारको बाटो पहिल्याउने बताए ।
उनले सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थाल्ने बताए । उनले सिम्रौनगढले कृषि उत्पादन क्षेत्रमा पनि अग्रणी भूमिका खेलेको चर्चा गर्दै कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन र बजारीकरण गर्न सघाउने बताए । उनले किसानको उत्पादन सुरक्षित राख्नका लागि चिस्यान केन्द्रको व्यवस्थापन आवश्यक रहेको आफूले पाएको र यसमा पहल गर्ने बताए ।
उनले नेपाली समाजमा आजभोलि नेताले राम्रो काम नगरेको भाष्य चलाइएको तर त्यो सत्य नभएको बताउँदै आफू र आफ्नो पार्टीका नेताहरूले काम गरेर सो भाष्यलाई गलत साबित गर्ने दाबी गरे । उनले यो भाष्यलाई वर्तमान सरकारले गलत कार्य गरेर मलजल गरेको आरोप लगाए । उनले वर्तमान ओली नेतृत्वको सरकारको कामकारबाईले पनि जनतामा निराशा बढाएकाले समग्र नेता काम नलाग्ने हुन् भनी जनतामा परिभाषित हुँदै गएको बताए ।
उनले पछिल्लो समयमा प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेका र उनीहरूले जनतालाई दिग्भर्मित पारेको भन्दै विगतलाई नबिर्सन सुझाए । नेताहरूप्रति वितृष्णा फैलाउने र सामन्ती निरङ्कुश शासन व्यवस्था ल्याउने प्रयत्न भइरहेको बताउँदै उनले नेपाली जनतालाई विगतमा भोग्नुपरेका पीडाहरूको स्मरण गर्न आग्रह गरे । सबै थरीका निरङ्कुशतालाई परास्त गरेर अहिलेको व्यवस्था आएको हो, यसमा सुधार आवश्यक छ तर व्यवस्थाविरोधी गतिविधिलाई जनताले रोक्नुपर्ने बताए ।
उनले विकासलाई गति दिनका लागि शासकीय स्वरूप परिवर्तन गर्न आवश्यक रहेको चर्चा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आवश्यकतामा जोड दिए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएको खण्डमा मात्र देशमा पाँच वर्ष स्थायी सरकार हुन सक्ने जिकिर गरे ।
शहीद परिवार उर्मिला कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान सहकारी संस्था सिम्रौनगढकी अध्यक्ष ललितादेवी तत्वा र उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबू कुशवाहाले पूर्वप्रधानमन्त्री प्रचण्डलाई मायाको चिनो प्रदान गरी सिम्रौनगढमा स्वागत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, अभियानका बारा, पर्सा कमान्डर महेन्द्र पासवान लगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण नगर कमिटी अध्यक्ष श्यामकिशोर यादवले गरेका थिए ।
ओली सरकारको कारण प्रतिगमनले टाउको उठायो –प्रचण्ड
जीतलाल श्रेष्ठ, निजगढ/
भ्रष्टाचारलाई बढावा दिने, भ्रष्टाचारीलाई जोगाउने उद्देश्यका साथ बनेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कारण प्रतिगमनले टाउको उठाउने साहस जुराएको पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । बाराको सदरमुुकाम कलैयामा बिहीवार हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा अध्यक्ष प्रचण्डले ओली नेतृत्व सरकारको कारण प्रतिगामी तŒवले टाउको उठाउने दुस्साहसको वातावरण बनेको आरोप लगाए । उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गको पुनर्निर्माणको लागि भारतसँग पहल गरी निर्माण सुचारु गराएको बताए । उनले जागरण अभियानको क्रममा कैयौं ठाउँमा पुल, पुलेसा बन्न नसकेको बताउँदै आफू सरकारमा आए हुलाकी सडकका अधूरा कामहरू सम्पन्न गर्ने दाबी गरे ।
अभियानको क्रममा आफूले तराई–मधेसको समस्या, विकास, जनताको अवस्था, उद्योगधन्दा, कलकारखानाको अवस्था बुझ्न पाएको जिकिर गरे ।
उनले सरकारमा रहँदा र नरहँदाको अवस्थामा तराई–मधेस, पहाड, हिमालका जनताको साथमा रहेर कार्य गर्दै आएको दाबी गरे । उनले जनतामैत्री कार्य गरेकै कारण माओवादी केन्द्र जनताबीच लोकप्रिय बन्दै गएको बताए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले तराई–मधेसको विकास, समृद्धि र यहाँका जनताको हक अधिकारका लागि माओवादी केन्द्रसँग सहकार्य गर्दै आएको बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव तराई–मधेसका लागि भष्मासुर भएको टिप्पणी गरे ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई प्रचण्ड नेतृत्वको सरकारले ठेगान लगाउने अभियान चलाएसँगै एमाले र नेकाको अप्राकृतिक गठबन्धनको सरकार बनेको बताए । उनले अहिलेको सरकार मुलुक र जनताप्रति दायित्वबोध नभएको आरोप लगाउँदै ओली नेतृत्वको सरकारबाट मुलुकमा विकास, आर्थिक समृद्धि, रोजगार, सुशासनको अपेक्षा राख्न नसकिने जिकिर गरे ।
बारा इन्चार्ज क्षत्रबहादुर श्रेष्ठ अनिलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता एवं मधेस प्रदेश इन्चार्ज मातृका यादव, केन्द्रीय सदस्य गीता कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए भने माओवादी नेताहरू अग्नि सापकोटा, पम्फा भुुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, मधेस प्रदेश सहइन्र्चाज विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, महेन्द्र पासवान, केन्द्रीय सदस्य भरत साह, जीवन आचार्य, गङ्गा दाहाल, राजन पौडेल, जयराम दाहाल, हरि चौलागाईं, रविराज दङ्गाललगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मुकेश साहले गरेका थिए ।