प्रस, रौतहट, ७ चैत/
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन रौतहटमा दुईजना पक्राउ परेका र विभिन्न परीक्षा केन्द्रबाट ४२४ वटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने अभिप्रायले परीक्षार्थीहरूले मोबाइल लुकाएर हलभित्र प्रवेश गरेकामा चेकजाँच को क्रममा ४२४ थान मोबाइल बरामद भएको जिप्रका, रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
उनले यमुनामाई गाउँपालिका–५ स्थित यमुनामाई माध्यमिक विद्यालय झुनखुनुवा परीक्षा केन्द्रमा परीक्षार्थीहरूबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने एकजना निरीक्षक र मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनिया मावि मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पु¥याउने कार्यमा संलग्न एकजना गरी दुईजनालाई परीक्षाको मर्यादा भङ्ग गरेको कसूरमा पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गराएर हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।
पर्सामा शान्तिपूर्ण सम्पन्न
प्रस, वीरगंज/
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, पर्साका प्रमुख हरिराउत कुर्मीले पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा (एसइई) जिल्लामा शान्त र सौहार्दपूर्णरूपमा सम्पन्न भएको बताएका छन् ।
यसपटकको एसइईमा नियमिततर्फ नौ हजार ९७३, प्राविधिकतर्फ २१०, ग्रेडवृद्धितर्फ एक हजार २३० गरी ११ हजार ४१३ परीक्षार्थीमध्ये आजको परीक्षामा ४२२ जना परीक्षार्थी अनुपस्थित भएको उनले बताए । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षामा नियमिततर्फका ३२७, प्राविधिकतर्फका २१ र गे्रडवृद्धितर्फका ७६ जना अनुपस्थित रहेको जानकारी गराए ।
यसैगरी, आज एसइईमा बन्दीसुधार गृह (वीरगंज कारागार)मा चारजना र बाल सुधारगृहमा पाँचजनाले परीक्षा दिएको उनले जानकारी गराए ।
प्रमुख कुर्मीले पहिलो दिनको परीक्षामा कोही परीक्षार्थी, केन्द्राध्क्ष तथा निरीक्षक कारबाईमा नपरेको बताए ।