शिक्षक नियुक्तिमा अनियमितता भएको आरोप

प्रस, वीरगंज, ७ चैत/
पर्सागढी नगरपालिका–३ स्थित जनता मावि पकडिया बडनिहारमा तीनजना शिक्षक नियुक्ति गर्दा अनियमितता भएको वडाध्यक्ष सुकमान तामाङले आरोप लगाएका छन् ।

उनले विद्यालयले सर्वप्रथम २०७९ सालमा नेपाली र सामाजिक विषयका दुईजना शिक्षक नियुक्त गर्न आफूसँग सहमति लिएको र त्यसमा आफूले हस्ताक्षर गरेको बताए । त्यसपछि परीक्षा लिएर पवन कुमार नियुक्त भएपनि काम गर्न नदिएको बताए । यसैगरी, २०८१ पुसमा पुनः नेपाली र सामाजिक विषयका लागि शिक्षक नियुक्त गर्न आफूसँग सिफारिश गराएकामा सोसम्बन्धी सूचना जारी नगरिएको आरोप लगाए ।

उनले प्रधानाध्यापक मोहनलाल चौधरीले गत माघ २७ गते लेखा र नेपाली विषयका लागि शिक्षक नियुक्त गर्न सिफारिश गराएको तर सूचना प्रकाशित नगरेको बताए । यसबीच पछिल्लोपटक फागुन २० गते शिक्षक नियुक्तिको लागि सूचना प्रकाशन गर्ने निर्णय भएको तर सो सूचना पनि प्रकाशन नगरिएको तर अहिले विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि आफूसँग कुनै सोधपूछ नगरी प्रअ चौधरीले चैत ६ गतेको विव्यसको निर्णय भनेर नेपाली, सामाजिक र गणित गरी तीन विषयका लागि शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरे लगत्तै आज वीरगंज महानगरको पन्नालाल माविमा परीक्षा लिएर शिक्षक नियुक्त गरेको बताए ।

यस अघि प्रअ चौधरीले चैत ५ गते सूचना प्रकाशन गरेर शिक्षक नियुक्तिका लागि लिने भनिएको परीक्षा स्थगित गरिएको सूचना निकालेका थिए । एक दिन अघि स्थगित र अर्काे दिन म्याद सकिएको विव्यसको निर्णय भनेर सूचना प्रकाशित गर्नु र परीक्षा लिएर सोही दिन नतीजा प्रकाशन गर्नु चरम अनियमितता भएको र यसबारे आफूले प्रजिअ तथा अख्तियारमा उजूरी गरेको बताए ।

आज लिएको परीक्षामा माधव घिमिरेलाई नेपाली विषयको शिक्षक नियुक्त गरिएको छ भने सामाजिक विषयको लागि प्रविन्ता पञ्जियार र गणित विषयको शिक्षकमा दीपक कुमारलाई नियुक्त गरिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्